सप्तरी – धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि थप १५०.५ मेगावाट क्षमताका चारवटा आयोजनाले निर्माण अनुमति पाएका छन् ।विद्युत् विकास विभागले ती आयोजनालाई म्याग्दी नदीबाट बिजुली निकाल्ने अनुमति दिएको हो ।६५.९८ मेगावाट क्षमताका छवटा आयोजना सर्वेक्षणको क्रममा छन् । सब-स्टेसन, प्रसारण लाइन, प्राकृतिक, सामाजिक वातावरण दिन सकिए लगानीकर्ता आकर्षित भई धौलागिरिमा जलविद्युत् आयोजना निर्माणले गति लिने र म्याग्दी खोलामा खेर गइरहेको पानी पैसामा रूपान्तर हुने स्थानीयको अपेक्षा छ ।
जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम क्षेत्रका वस्तीमा सडक यातायातको पहुँच बढ्ने, रोजगारी र आयआर्जनको अवसर सिर्जना हुने अपेक्षा गरेको धवलागिरि वडा नम्बर- ४ चेचुङका चक्रबहादुर घर्ती बताउँछन् ।हालसम्म सडक सुविधा नभएको गाउँमा जलविद्युत आयोजनाले सडक बनाउन लागेको खबरले उत्साही भएको खाम्लाका रेशमबहादुर पुनले सुनाए ।धवलागिरि गाउँपालिका वडा नम्बर- ४ नाउरामा हाइड्रो इम्पायर प्रालिले ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ ।यसअघि २० मेगावाटको अनुमति पाएको अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (ईआईए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।बिमको शिवरात्रिखोलादेखि भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्र्याक खोलिसकेको आयोजनाले मनसुनअघिसम्म विद्युत्गृह र आउँदो वर्षको मंसिरसम्म बाँधलाई पहुँचमार्गले जोड्ने लक्ष्य राखेको हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले जानकारी दिए । करिब १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माणसँगै लगानी जुटाउने र विद्युत खरिद-बिक्री सम्झौता (पीपीए)को तयारी गरेको छ । सात अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको अपर म्याग्दीखोलाको बाँध सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल तथा विद्युत्गृह म्याग्दी र मुदी खोलाको दोभानभन्दा एक किलोमिटर माथि प्रस्ताव गरिएको छ ।तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट ७९७.९६ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत्गृहमा खसालेर बिजुली उत्पादन गरिनेछ ।उत्पादित विद्युत् १० किलोमिटर लामो प्रसारण लाइनबाट डाँडाखेत सबस्टेसन हुँदै केन्द्रीय ग्रिडमा जोडिनेछ । नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका वडा नम्बर- ७ बिमको डाँडाखेत सब-स्टेसन र त्यहाँदेखि राहुघाटसम्म १३२ केभी क्षमताको प्रसारण लाइन सुरु गरेको छ ।
प्राधिकरणले सब-स्टेसन निर्माण सुरु गरेपछि वर्षांैअघि अनुमति पाएका अपर म्याग्दीलगायत अन्य आयोजनाले पनि गति लिने अपेक्षा गरेको धवलागिरि वडा नम्बर- ४ का वडा सदस्य केशरमान पुनले बताए । म्याग्दी र आसपासका खोलामा निर्माण अनुमति लिएका जलविद्युत् आयोजनालाई गति दिन धवलागिरि गाउँपालिकाले स्थानीय स्तरमा समन्वयका साथै यस वर्ष खारादेखि खाम्ला जोड्ने सडक निर्माण थालेको छ । २०७५ सालमा पूर्वाधार विकास कार्यालयले कल्लेनीमा करिब डेढ किलोमिटर ट्र्याक खनेको थियो । म्याग्दी नदीबाट बिजुली उत्पादन गर्न विद्युत् विकास विभागबाट ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति पाएका हुन् । धौलागिरि कालिका हाइड्रोले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरबाङ म्याग्दी खोला जलविद्युत् आयोजनाको दुई वर्षअघि शिलान्यास गरे पनि गति लिन सकेको छैन ।धवलागिरि गाउँपालिकामा २३.७० मेगावाट क्षमताको म्याग्दी खोला ए, १५ मेगावाट क्षमताको धौला खोला, ४.६ मेगावाट क्षमताको तिरिजा खोला, १२.७३ मेगावाट क्षमताको अपर मुदी, ३.४५ मेगावाट क्षमताको सिम्कोस र ६.५ मेगावाट क्षमताको दर खोला जलविद्युत् आयोजना सर्वेक्षणको क्रममा छन् ।
विद्युत् प्राधिकरणले डाँडाखेत र राहुघाटमा सब-स्टेसन तथा प्रसारण लाइन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेपछि अनुमति लिएर बसेका आयोजनाले निर्माणको तयारी थालेको बताएका छन् । सन् २०२४ भित्रै डाँडाखेत सब-स्टेसन र प्रसारण लाइन निर्माण गर्ने विद्युत् प्राधिकरणले जनाएको छ ।