सप्तरी – दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।
प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा बुधबार दिनको दोस्रो खेलमा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गरेको छ।
खेलमा बागमतीले दिएको १ सय ५४ रनको विशाल योगफललाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा ८८ रनमा सिमित हुन पुगेको थियो।
गण्डकीका लागि सृष्टि पौडेलले सर्वाधिक ३० रन तथा कप्तान शिला क्षेत्रीले २६ रनको योगदान गरिन्।
बलिङतर्फ बागमतीका लागि कप्तान अस्मिना कर्मचार्य, सुमन खतिवडा , आराती बिडारी र निशा तामाङले १–१ विकेट लिए।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो।
टिमले विशाल योगफल खडा गर्ने क्रममा बागमतीले सुरुवात देखिनै राम्रो खेलेको थियो। ओपनर ब्याट्सवुमनद्वय कन्चन श्रेष्ठ र विन्दा कटवालले ७६ रनको ओपनिङ साझेदारी गरेका थिए।
१०.२ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी कन्चनले २९ बलको सामना गर्दै १ चौकासहित २७ रन बनाएकी थिइन्।
कन्चन आउट भएपछि विन्दालाई साथ दिन सुमन खतिवडा आएकी थिइन्। राम्रो ब्याटिङ गरेका यी दुईबीच दोस्रो विकेटका लागि ५३ रनको साझेदारी भएको थियो।
टिमलाई ठूलो स्कोरतर्फ पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमन दोस्रो विकेटका रुपमा आउट हुन् पुगेकी थिइन्। १७.४ ओभरमा टिमको स्कोर १ सय २९ रन हुँदा आउट हुन् पुगेकी उनले २६ बलको सामना गर्दै ४ चौकासहित ३१ रन बनाइन्।
यस्तै विन्दाले भने पारीकै सर्वाधिक धेरै रन बनाइन्। राष्ट्रिय प्रतियोगितामा समेत डेब्यु गरेकी उनले ५८ बलमा ३ चौकाको सहयोगमा ३८ रनको योगदान गरिन्। अत्यमा आरती विडारीले १० रनमा अविजित रहँदा कप्तान अस्मिना कर्मचार्यले ८ रन जोडेकी थिइन्।
बलिङतर्फ गण्डकीका लागि अलिशा लामिछानेले २ विकेट लिएकी थिइन्।
यो जितसँगै समूह बी मा रहेको बागमतीले २ खेलमा १ मा जित र १ मा हार ब्यहोर्दै अंकतालिकामा २ अंक जोडेको छ भने लगातार दुई खेलमा पराजित भएको गण्डकी समूह चरणबाटै बाहिरिएको छ।
यता लगातार दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको प्रदेश १ एक खेल अगावै सेमिफाइनल पुगेको छ।
अब प्रतियोगिता अन्तर्गत बिहीबार समूह बी का अन्तिम खेलहरु हुनेछन्। जस अन्तर्गत पहिलो खेलमा सुदूर पश्चिमले बागमतीको सामना गर्दा दिनको दोस्रो खेलमा प्रदेश १ ले गण्डकीको सामना गर्नेछ।