सप्तरी – पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन असंवैधानिक भएको बताएका छन् । यसले देश अनिश्चितताको बाटोमा गएको उनको विश्लेषण छ ।राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए । अब आशा र भरोसाको संस्था अदालतबाट न्याय हुनेमा अरु लोकतन्त्रवादी जस्तै आफू पनि आशावादी रहेको उनले बताए ।
२०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।नेपालको राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय ध्यान केन्द्रीत भएको भन्दै उनले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपर्ने बताए । भू–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने उनको भनाइ छ ।