सप्तरी – मंगलबार देशका थोरै ठाउँ वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुृको प्रभावले बुधबार रातिसम्म नै थोरै ठाउँमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
उनका अनुसार बिहीबारदेखि भने मौसम खुल्दै जानेछ । तर मंगलबार र बुधबार भने देशभरी मौसम पूर्ण रुपमा बदली भएर केही ठाउँमा वर्षा र हिमपात हुनेछ ।
मंगलबार दिउँसो देशभर बदली भएपनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै तथा बागमती र प्रदेश १ को एक-दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात पनि हुने सम्भावाना छ । यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । त्यस्तै बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात पनि हुनेछ ।
बुधबार राति देशको पहाडी भू-भागमा आंशिक बदली रही एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंगलबार र बुधबार देशभरी कै मौसम बदली भए पनि बिहीबारदेखि भने मौसम खुल्दै जाने मौसमविद् नगरकोटीको पूर्वानुमान छ ।
उनका अनुसार आइतबारदेखि नै देशभरी कै मौसम बदली गराएको पश्चिमी वायु कमजोर हुँदै गएपछि बिहीबारदेखि मौसम खुल्दै जाने छ । बिहीबार दिउँसो पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पश्चिमी हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पश्चिमी हिमाली भ-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा घट्ने भएकाले देशैभर चिसो बढ्ने भन्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौंको मंगलबार बिहानको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।