सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओली भाेलि (शुक्रबार) सुदूरपश्चिमकाे धनगढी जाँदैछन् । सत्तारूढ नेकपा प्रदेश कमिटीकाे आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लागेका हुन् ।
भ्रमणलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जनाएकाे छ । कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार प्रधानमन्त्रीकाे भ्रमणका क्रममा करिब ८ सय प्रहरी परिचालन गरिने छ । ‘सबै सुरक्षा निकायबीच समन्यव गरि सुरक्षा व्यवस्था कडा पारिएकाे छ । नेपाल प्रहरीका साथै सेना र सशस्त्र प्रहरी पनि सुरक्षामा खटिने छन्’, उनले मकालु खबरसँग भने ।
कार्यक्रम सुरू हुनु २४ घण्टा अघिदेखि नै सुरक्षा टाेली सक्रिय भएर सुरक्षा व्यवस्थामा खटिएकाे उनले बताए ।प्रधानमन्त्रीकाे भ्रमण हुने भएपछि कालाे मास्क, कालाे ब्यानर लगायत प्रतिबन्ध लगाइएकाे कुरा बाहिरिए पनि एसएसपी सिंहले भने यसबारे आफूलाई जानकारी नभएको बताए । बिहान करिब ९ बजेतिर प्रधानमन्त्री धनगढी पुग्ने र अपरान्ह चार बजे फर्कने कार्यक्रम रहेको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कैलालीले पनि प्रधानमन्त्रीकाे भ्रमणमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएकाे जानकारी दिएकाे छ । कुनै समूहले नियतवस् काला वस्तुहरू प्रदर्शन गरी कार्यक्रममा अवराेध सिर्जना गरेमा प्रहरीले हस्तक्षेप गर्न सक्ने सहायक प्रजिअ हिरालाल चाैधरीले बताए ।प्रधानमन्त्री ओली संसद विघटनपछि पहिलाे पटक कैलाली जान लागेका हुन् । पुस ५ गते संसद विघटन गरेपछि उनलाई भेलामा सहभागी हुन भ्याइ-नभ्याइ छ ।