सप्तरी – मेक्सिकोको दक्षिणी भागमा रहेको चियापास राज्यको एक नगरका मेयरलाई आक्रोशित नगरवासीहरूले रुखमा बाँधेका छन् । नयाँ पानीटंकीको अवस्था टीठलाग्दो भएपछि उनीहरूले मेयरलाई बाँधेका हुन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, सोमवार फ्रोन्टेरा कोमालापा शहरका बासिन्दालाई मेयर अस्कर रामिरेजले विभिन्न सार्वजनिक परियोजनाको बारेमा प्रस्तुति दिइरहेका थिए । त्यसक्रममा ११ वटा समुदायका प्रतिनिधिहरूले रामिरेजलाई खानेपानी प्रणालीको बिजोक अवस्थाका बारेमा प्रश्न गरे । चित्तबुझ्दो जवाफ नआएपछि उनलाई समातेर रुखमा बाँधिदिए । उनलाई फेस मास्क लगाएको अनि हात पछाडि लगेर रुखमा बाँधिएको अवस्थामा तस्वीर खिचिएको छ । पक्की पानीटंकीको दरिद्र अवस्थाको आलोचना गर्दै टोल सुधार समितिका एक सदस्यले कराएको भिडियो पनि सुनिएको छ ।
‘उनले कोमालापाका जनतालाई राम्रो काम गरेर देखाउने भनेका थिए तर त्यो झूटो रहेछ । उनले खानेपानी प्रणालीमा भ्रष्टाचार गरे । त्यसले कामै गरिरहेको छैन,’ अर्का एक स्थानीयले बताए । मेयर रामिरेजले पछि सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूलाई रुखमा नबाँधिएको बताए । तर तस्वीरमा उनलाई नै बाँधिएको देखिन्छ ।