१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – माघ ५ गते अर्थात स्वायत्त मधेश एक प्रदेश र अधिकार प्राप्तिका लागि गरिएकाे मधेस आन्दोलनको १४ वर्ष पूरा भएको छ।याे आन्दाेलन १९ दिनसम्म चलेको थियाे। याेसँगै अधिकार प्राप्तिका लागि मधेसमा तीनपटक आन्दोलन भयो । तीनवटै मधेस आन्दोलनमा १ सय भन्दा बढीले शहादत प्राप्त गरे ।

मधेस आन्दोलन जति पुरानाे हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गइरहेको छ । तैपनि मधेस आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।तर मधेश आन्दोलनको सुरुवात भएको दिनमा समेत मधेशवादी दलमा त्यो उर्जा देखिएको छैन । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मधेस आन्दोलनको मुद्दा खुवै उठाइएको थियो । तत्कालिन संघीय समाजवादी फोरम र राजपाले राम्रो जित निकाले र प्रदेशमा अहिले मधेसवादी दलकै सरकार रहेको छ ।मधेस आन्दोलनबाट मधेसले धेरै थोक पाए भने धेरै थोक गुमाए पनि । यद्यपि प्रदेश दुईका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले मधेस आन्दोलनबाट देशले संघीय गणतन्त्र पाएकाे बताए।

देशमा संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन मधेस आन्दोलनको उल्लेखनीय भूमिका रहेको र यो मधेस आन्दोलनको दृष्टिकोणले उपलब्धिपूर्ण रहेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभले बताए।नागरिकताको विषय राष्ट्रिय मुद्दा बनेको छ यो पनि मधेस आन्दोलनकै उपज रहेको लाभले बताए । तर, मधेशवादी दलले आजको दिनको महत्व भुल्दै गएको आरोप समेत लागि रहेको छ।मधेस आन्दोलनकै बलमा देशमा संघीयता तथा समावेशिता स्थापित भएको भन्दै लाभले भने ‘मधेशी जनताको पहिचान पनि स्थापित भएको छ । काठमाडौँमा बसेकाहरुको मनोविज्ञानमा परिवर्तन आएको छ, मधेशी जनता अब आफूलाई मधेशी कहलाउनमा गर्व गरिरहेका छन् ।’मधेस मामिलाका जानकारहरु मधेशवादी दलले आन्दोलनको ‘ब्याज’ खाईरहेको आरोप समेत लगाउँदै आइरहेका छन् । राजनीतिक विश्लेषक लाभले मधेशी जनताले चाहेका इस्युहरु अझैसम्म पूरा हुन नसकेकाे बताए।मधेसमा चाहेको जस्तो विकासको अनुभूति हुन नसकेकाे उनले बताए।मधेशी जनताले काठमाडौँका शासकहरुभन्दा पृथक शासन सोचेका थिए तर सो शासनभन्दा केही पृथक अनुभूति मधेशी जनताले गर्न नसकेको लाभले बताए ।यता जसपाका नेता कृष्णा सिंहले मधेस र मधेशी जनताले आन्दोलनबाट केही नगुमाएको बरु केही मधेशी नेताहरुले विश्वास गुमाएको स्वीकार गरे।राजनीतिक विश्लेषक लाभले मधेशवादी दलको तुष्टीकरणको राजनीतिकै कारण मधेशी जनतामा त्यो उत्साह नरहेको बताए ।

किन भयो मधेस आन्दोलन ?
वि.सं. २०६३ सालमा अन्तरिम संविधान जारी गर्ने तयारी भइरहेको थियो । अधिकार प्राप्तिको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको मधेसको अधिकारका लागि अन्तरिम संविधानमा कुनै पनि दल वा सरकारले गम्भीरता नदेखाएको भन्दै सोही समयमा उपेन्द्र यादवले गठन गरेको मधेसी जनअधिकार फोरमको गतिविधि सुरु भएको थियो ।

जनकपुरधाममा उपेन्द्र यादव आएर देशमा आन्दोलन नभई चुनावको तयारी गर्नु पर्ने मनसाय व्यक्त गरेपछि फोरममा आवद्ध युवाहरुले मधेसले अब आफ्ना लागि आन्दोलन गर्नु पर्छ भन्दै दबाब बनाए । फोरम भित्र आन्दोलन गर्ने नगर्ने खिचातानीका बिच वि.सं. २०६३ सालमा अन्तरिम संविधान जारी भयो ।अन्तरिम संविधानमा संघीयता शब्द उल्लेख नभएको देखेर तत्कालिन समयमा राजनीतिक दलको स्वरुप धारण नगरेको फोरमले त्यो संविधान मधेशी जनताका लागि स्वीकार्य नहुने प्रतिक्रिया दियो । अन्तरिम संविधान जारी हुनुभन्दा अगाडि तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलनको आयोजना गरी अन्तरिम संविधानमा संघियताको सवालमा सम्बोधन नभए त्यो संविधानलाई नमान्ने अभिव्यक्ति दिएका थिए ।अन्तरिम संविधान जारी हुँदा त्यो संविधानमा संघीयता शब्दको उल्लेख थिएन । साथै अन्तरिम संविधानमा मिश्रित निर्वाचन प्रणाली उल्लेख गरिएको थियो तर फोरमको माग समानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने थियो ।वि.सं. २०६३ साल माघ १ गते अन्तरिम संविधान जारी भएकै दिन मधेसका जिल्लाहरुमा विरोध स्वरुप मशाल जुलुश प्रदर्शन भयो । त्यसको भोलिपल्ट २०६३ साल माघ २ गते तत्कालिन फोरमका अध्यक्ष उपेन्द्र यादवसहित किशोर विश्वास, रामकुमार शर्मा, उपेन्द्र झा, विपी यादवसहितले काठमाडौँ स्थित माइतीघर मण्डलामा अन्तरिम संविधान जलाए । अन्तरिम संविधान जलाएको आरोपमा प्रहरीले ७ जनालाई गिरफ्तार गरेकाे थियाे।फोरमको नेतृत्व पंक्तिमा रहेका अध्यक्ष, महासचिव, सचिव लगायतका पदाधिकारीहरु अन्तरिम संविधान जलाएको आरोपमा जेलमा परेपछि फोरमको पूर्व घोषित कार्यक्रम अनुसार २०६३ साल माघ ३ गतेको एक दिने मधेश बन्दको कार्यक्रम सफल पार्ने दवाब थियो । नेतृत्व गर्ने नेताहरु नै गिरफ्तारीमा परेपछि यो अभिभारा कसले उठाउने ओहापोहका बिच तत्कालिन फोरमको धनुषा अध्यक्ष दीपक झाले यो अभिभारा उठाउने उदघोष गरे ।उपेन्द्र यादवसहित पक्राउ परेकाहरुलाई ३ वर्षसम्म जेलमै राख्ने तयारी चलिरहेको समयमा उनले एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन मधेश आन्दोलनको घोषणा गरे । अनि मात्रै २०६३ साल माघ ३ गते सुरु भयो अधिकार प्राप्तिका लागि पहिलो मधेस आन्दोलन ।मधेस आन्दोलन जनकपुरधामबाट सुरु भएपनि सिरहाको लहानमा माघ ५ गते रमेश महतोको हत्या भएपछि आन्दोलन झनै बढेको थियो र महतोकै शहादतका कारण माघ ५ गतेलाई प्रत्येक वर्ष बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ । सोही आन्दोलनको बलमा देशको संविधानमा संघीयता शब्दले स्थान पाएको मधेसवादी दलका नेताहरुको दावी छ ।

मधेस आन्दोलनको नेतृत्व गरेका युवाहरु अलपत्र ;
पहिलो मधेस आन्दोलनको सुरुवात गर्नेहरुमा युवाहरु नै थिए । मधेसी जनअधिकार फोरमको नेतृत्व गरेका अध्यक्ष उपेन्द्र यादवसहित महासचिव, सचिव लगायतका पदाधिकारीहरु अन्तरिम संविधान जलाएको आरोपमा जेलमा परेपछि आन्दोलनलाई फोरमको धनुषा अध्यक्ष दीपक झा लगायतका युवाहरुले सञ्चालन गरेका थिए ।

तर अधिकार प्राप्तिको लागि मधेस आन्दोलनको विगुल फुकेर अग्र स्थानमा रहेका युवाहरु अहिले ओझेलमा परेका छन् । पहिलो मधेस आन्दोलनका नेतृत्वकर्ता दीपक झाले मधेस आन्दोलन सफल भएपनि आन्दोलनबाट प्राप्त अधिकारहरुलाई व्यवस्थित गर्न नसकिएको बताए ।

उनले मधेस आन्दोलनको बेला आन्दोलनको विरोधमा कुरा गर्नेहरु नै अहिले प्रदेशको सरकारमा रहेको बताए ।‘पंचायतकालमा राजाको पक्षमा बोल्नेहरु अहिले ठूलो गणतन्त्रवादी र संघीयताका पक्षधर बनेका छन्’, झाले भने, ‘यही सब देखेर अहिले राजनीतिमा त्यती सक्रिय छैन । यो राजनीति देखेर घृणा जागेर आउँछ ।’आन्दोलन भएपछि नेतृत्व परिवर्तन हुनुपर्नेमा त्यस्तो केहि नभएको उनको आरोप छ । अर्का मधेस आन्दोलनकारी युवा अरुण झा मधेशीको पनि हाल फरक छैन । जनकपुरधाममा पढन आएका मधेशी पहिलो मधेस आन्दोलनमा होमिएका थिए । तर अधिकार प्राप्ति तर्फ नभई मधेशीदलहरु विलासिता तर्फ लागेको उनको आरोप छ ।पहिलो मधेस आन्दोलनको समय दिपक झालाई फोरम धनुषाको उपाध्यक्ष भएर सघाउने दिनेश पूर्वे पनि अहिले ओझेलमै परेका छन् । उनी अहिले राजनीतिबाट टाढा भएका छन् ।पहिलो मधेस आन्दोलन सफल भइ तत्कालिन सरकारसँग सम्झौता भएपछि फोरमले राजनीतिक पार्टीको रुपमा सक्रियता बढाउने निर्णय गरेको थियो । पुर्वेले संविधानसभाको निर्वाचनमा भाग लिने सोच बनाए।

तर त्यस्तो भएन । सोही दिन आफूले अधिकार आन्दोलनको लडाई फोरम पार्टी र उपेन्द्र यादवलाई सुम्पेकाे पूर्वे बताउँछन् । उनी भन्छन् ‘फोरम र उपेन्द्र यादव जीले मलाई छोडे तर मेरो लक्ष्यले अझै मलाई छोडेको छैन ।’उनी अहिले राजनीति त्यागेर जनकपुरधाममा श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने अभियान बोकेर अगाडि बढि रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]