सप्तरी – विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले असमान नीतिका कारण कोरोना खोप वितरण प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । असमान नीतिका कारण विश्वले ‘विपत्तिपूर्ण नैतिक विफलता’ को सामना गर्नुपर्नेे औंल्याएका हुन् ।
सोमबार डब्लूएचओको कार्यकारी बोर्डको बैठकलाई सम्बोधन गर्दै महानिर्देशक टेड्रोसले कोरोना खोप पाउनबाट गरिब देश वञ्चिन भए महामारी अन्त्य नहुने चेतावनी दिएका हुन् । गरिब देशका बूढाबूढी र जोखिममा रहेका मानिसले भन्दा धनी देशका युवा र स्वस्थ मानिसले पहिले कोरोना खोप पाउनु न्यायोचित नभएको उनले टिप्पणी गरेका छन् । करिब ४९ धनी देशमा ३ करोड ९० लाख डोज कोरोना खोप उपलब्ध हुँदा कुनै गरिब देशमा २५ डोज पुगेको उनले बताए ।अहिलेसम्म चीन, भारत, रुस, अमेरिका र बेलायतले कोरोनाविरुद्धको खोप बनाएका छन् । अमेरिकी र जर्मन कम्पनीको संयुक्त लगानीमा बायोएनटेक फाइजर खोपको विकास भएको छ । यी सबै मुलुकले पहिले आफ्ना नागरिकलाई नै खोप उपलब्ध गराउँदै आएका छन् ।
महानिर्देशक टेड्रोसले अहिले विश्व समुदायमा देखिएको नैतिक विफलताका कारण गरिब देश र त्यहाँका नागरिकले ठूलो मुल्य चुकाउनुपर्ने अवस्था आउने चेतावनी दिँदै कोरोना खोपको वितरण नीतिमा सुधार गर्नुपर्ने बताए । कोरोना खोपको वितरणमा ‘म पहिले’ भन्ने नीति अपनाउँदा त्यो आत्मघाती सावित हुन सक्ने र नाफाखोरहरु सल्बलाउने सम्भावना रहने पनि उनको भनाइ थियो ।त्यस्तै महानिर्देशक टेड्रोसले आफूहरुले विश्वव्यापी खोप वितरण कार्यक्रम ‘कोभ्याक्स’ मा पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् । उनका अनुसार अर्को महिनादेखि यो कार्यक्रमअन्तर्गत कोरोना महामारीविरुद्धको खोप वितरण हुनेछ । आउँदो विश्व स्वास्थ्य दिवस (अप्रिल ७) सम्म सबै सदस्य राष्ट्रमा कोरोना खोप पुऱ्याइसक्ने आफूहरुले लक्ष्य रहेको पनि उनले बताए ।अहिलेसम्म १८० भन्दा बढी देशले कोभ्याक्स कार्यक्रममा सहभागी हुन हस्ताक्षर गरिसकेका छन् । यीमध्ये ९२ मुलुक न्यून र मध्यम आय भएका मुलुक छन् । तिनीहरुका लागि दाताहरुले पैसा तिरेर कोरोना खोप उपलब्ध गराउनेछन् ।
‘हामीले ५ वटा उत्पादकसँग २ अर्ब डोज सुरक्षित गरिसकेका छौं । साथै अतिरिक्त एक अर्ब डोज पनि हामीसँग उपलब्ध हुनेछ । फेब्रुअरीबाट हामी खोप आपूर्ति गर्ने प्रयासमा लाग्नेछौ,’ महानिर्देशक टेड्रोसले भने ।