सप्तरी – चीनको तेस्रो विमानवाहक युद्धपोत सन् २०२१ मा शुभारम्भ गरिने र सन् २०२५ मा जलसेनामा सामेल गरिने त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
टाइप ००३ नामक उक्त पोतलाई शांघाईको एक जहाज कारखानामा बनाइँदैछ र केही महिनामै यसको शुभारम्भ गरिनेछ, सरकारी सञ्चारमाध्यमले खबर दिएका छन् । गत अक्टोबर महिनामा चीनको दोस्रो विमानवाहक युद्धपोत सैन्य प्रयोजनका लागि तयार भएको खबर आएको थियो । त्यहाँ सैनिकहरूले लाइभ फायर ड्रिल गरेका थिए । बेइजिङको पछिल्लो विमानवाहक युद्धपोत ८० हजार टनको छ र यसबाट विमान उडाउनका लागि इलेक्ट्रोम्याग्नेटिक क्याटापल्टहरू जडान गरिएको छ ।
चिनियाँ सेनाले यो विशाल युद्धपोतको विस्तृत विवरण उपलब्ध गराएको छैन । चीनका सैन्यविद् सोङ चोङपिङले युद्धपोतका ब्लकहरूको निर्माण पूरा भइसकेको र जोडजाडको काम मात्र बाँकी रहेको बताए । सन् २०२१ मा टाइप ००३ विमानवाहक युद्धपोत र एच–२० बम्बर प्रयोगमा आउने उनले बताए ।