सप्तरी – प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको दाहाल-नेपाल समूहले आज काठमाडौँमा सिटी जुलुस गर्दैछ । दिउँसो तीन बजेदेखि लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ ।
संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल-नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने दाहाल–नेपाल समूहका युवा संगठनका संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।
जुलुसमा शीर्ष नेतामध्ये को सहभागि हुने ? भन्ने टुंगो लागेको छैन । संघर्ष समितिका सदस्य पम्फा भुसालका अनुसार भोलि बुधबारदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले माइतीघरमा धर्ना दिनेछन् ।
दाहाल-नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ । प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले पुस १४ गतेदेखि निरन्तर सडक संघर्षका कार्यक्रम गर्दै आएको छ ।