सप्तरी – नेकपाको दाहाल-नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध आज बुटवलमा विरोध सभा गर्दैछ । तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको दाहाल नेपाल समूहले उपत्यका बाहिरका विरोधसभामध्ये बुटवलमा आज विशाल प्रदर्शन गर्न लागेको हो ।
नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने विरोधसभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतले नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । विरोधसभालाई सम्बोधन गर्ने विषयमा बुटवल जानुअघि दाहाल र नेपालले पेरिसडाँडामा बैठक नै बसेर छलफल गरेका छन् । तेस्रो चरणको आन्दोलन अन्तर्गत दाहाल-नेपाल समूहले आज बुटवल, शुक्रबार विराटनगर र शनिबार धनगढीमा विरोध सभाको आयोजना गर्ने कार्यक्रम घोषणा गरेको छ । बुधबारदेखि माइतीघर मण्डलामा पनि धर्ना सुरु गरिएको छ ।
यसबीचमा उपत्यका बाहिर पनि विरोध सभा गर्ने कार्यक्रम तय गरेको दाहाल-नेपाल समूहले माघ २८ गते काठमाडौँमा फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।