सप्तरी,२४असोज: सप्तरीको कञ्चनरुप नगरपालिकामा १२ जना नयाँ क्षयरोगका बिरामी देखापरेका छन् । स्वास्थ्य शाखा कञ्चनरुपले आज आयोजना गरेको तेस्रो चौमासिक क्षयरोग सम्बन्धी गोष्ठिमा उक्त जानकारी दिइएका हुन ।
प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा सम्पन्न सो छलफलमा नयाँ क्षयरोगका बिरामी देखिएका ती मध्ये ९ जनाको फोक्सोमा कीटाणु देखिएको र ३ जनाको फोक्सो बाहेकका अंगमा कीटाणु देखिएको जानकारी दिइएको थिए ।
चार महिना पहिले दर्ता भएका ८ जना फोक्सोको क्षयरोगका बिरामीमध्ये ७ जनाको खकार नेगेटिभ आएको र १ जनाको मृत्यु भएको छ । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा दर्ता भएका १९ जना बिरामीमध्ये १७ जना निको भएको र २ जनाको मृत्यु भएको हो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सुभाषचन्द्र झाले क्षयरोगको लक्षण र बिरामीको अवस्थाबारे जानकारी गराएका थिए। नियमित रुपमा औषधी सेवन गरेमा बिरामी निको हुने बताउनु भएका उनले औषधी सेवन नगर्दा मृत्यु सम्म हुने चेतावनी दिएका छन ।
स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ताले क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकास हुने र तिनमा रोगका लक्षण देखा पर्ने बताए । तीन साता या सोभन्दा बढी समय खोकी लागे, खकारमा रगत देखिए, श्वास फेर्न गाह्रो भए वा छाती भारी भए, अकस्मात शरीरको धेरै तौल घटे, पसिना आउने भएर थकाइको महसुस भए क्षयरोगको आशंका गर्नुपर्ने र तत्कालै नजिकको स्वास्थ्य शाखामा सम्पर्क गर्नुपर्ने उनले बताएका छन ।
चिकित्सकहरुका अनुसार क्षयरोगका कीटाणुबाट प्रभावित सबैलाई यो रोग लाग्दैन । क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमा पर्याप्त रोग प्रतिरोधात्मक क्षमता छ भने यो रोगले हानि पुर्याउन सक्दैन । तर कुपोषण र एचआईभी संक्रमित व्यक्तिमा भने यो रोग छिटो विकसित हुन्छ ।
कार्यक्रममा विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरुले आ–आफ्नो स्वास्थ्य चौकीमा भएको क्षयरोगका बिरामीहरुको प्रगतिका बारेमा जानकारी गराए । कार्यक्रममा पत्रकार उत्तम आचार्य र सुरेन्द्रप्रसाद यादवले नियमित औषधी सेवनले निको हुने यस्तो रोग लाग्नुभन्दा पहिल्यै रोगै लाग्नै नदिन सबै सचेत हुन जरुरी रहेको बताए । स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले कार्यक्रमको उदेश्य बारेमा जानकारी दिए ।