काठमाडौं- नगर विकास कोष र झापाको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच ऋण सम्झौता भएको छ । आयोजनामा थप लगानीका लागि कोषले संस्थासँग सम्झौता गरेको हो ।
कुल २ करोड ३४ लाखको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि कोषले २५ प्रतिशत रकम ऋण दिएको हो ।आयोजनामा नेपाल सरकारबाट ७० प्रतिशत र ५ प्रतिशत उपभोक्ता संस्थाबाट बेहोरिनेछ । हाल संस्थाले ७ हजार उपभोक्ताको घरमा खानेपानी वितरण गरिरहेको छ ।बिर्तामोडको बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै संस्थाले कोषसँग सम्झौता गरेको अध्यक्ष जलकुमार गुरुङले पालिकाखबरलाई बताए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले ऋण सम्झौता भएससँगै खानेपानी आयोजनाले उपभोक्तालाई थप सहज हुने विश्वास व्यक्त गरे ।बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता यसअघि नै नगर विकास कोषबाट उत्कृष्ट आयोजनाका रुपमा सम्मानित भइसकेको छ ।