काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । भण्डारी र शर्माबीचको भेट संवैधानिक नियुक्तिको विषयमा छलफलमा केन्द्रीत रहेको बताइएको छ । भण्डारी र शर्माबीच करिब एक घण्टादेखि भेटघाट जारी छ । प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी कानुन संसोधन गरेर पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिसकेका छन् ।
सरकारले गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर सोही दिन संवैधानिक परिषद्को बैठकबाट ११ वटा संवैधानिक निकायमा ४५ जनाको नाम सिफारिस गरेको थियो। संवैधानिक परिषद्ले मंसिर ३० गते नाम सिफारिस गरेको भए पनि पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै संसद सचिवालयमा सुनुवाइका लागि पठाएको थियो । आजै सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्ले संवैधानिक निकायहरुमा गरेको नियुक्ति सिफारिसका सबै फाइल संवैधानिक परिषद्मै फिर्ता पठाएका छन् ।