काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको बताएका छन् ।
नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सभामा आउन नदिन दाहाल–नेपाल समुहले नेपाल बन्द गरेर तर्साउन खोजिएको बताए । बाटामा खाल्टा खनेर, बम राखेर विप्लव लेखेर पनि यो भेललाई कसैले रोक्न नसकेको उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले वर्तमान, इतिहास र देश बनाउने संकल्प बोकेकाले आफूले नेतृत्व गरेको पार्टी नै मूल भएको र आजबाट यसको फैसला भएको बताए । ‘मूल पार्टी कुन हो भन्ने अझै अन्योल र अलमल छ भने उनीहरुलाई कठैबरा बन्न सकिन्छ । मूल पार्टी यही हो, तपाईं–हामी जहाँ छौँ । यो कम्युनिस्ट पार्टीको मात्र होइन, देशकै मूल पार्टी हो । देशकै ठूलो पार्टी हो ।’