१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन २७, २०७७

सप्तरी,२७ असोज: कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकामा आइसियू र भेन्टिलेटरको अभाव भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल र पाटन अस्पताल पुगेका सयौँ बिरामी बेड नपाएर फर्किएका छन् । काठमाडौं उपत्यका बाहिरको अवस्था त झन् भयावह बन्दै गइरहेको छ ।

काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा आइसियूमा राख्नैपर्ने केही कोरोना संक्रमितलाई सामान्य बेडको व्यवस्था गरेर राखिएको छ भने केहीलाई घरमै बस्नु भन्दै फिर्ता पठाइएको छ । केही भने महंगो शुल्क तिरेर निजी अस्पतालमा कोरोनासँग संघर्ष गरिरहेका छन् । निजी अस्पतालमा पनि आइसियूको अभाव भइसकेको छ ।
काठमाडौ महानगरभित्रमात्रै यो समाचार टिप्पणी तयार पार्दासम्म एक्टिभ संक्रमित ५ हजार ८ सय २० जनामध्ये ४ हजार ५ सय ९१ जना घरमै छन् । यो तथ्याङ्कलाई हेर्दा संक्रमित घर घरमै छन् । सीमितमात्र अस्पतालमा भर्ना भएका छन् ।

सामान्य स्वास्थ्य समस्या भएका घरमै आइसोलेसनमा बस्नु सामान्य मान्न सकिन्छ । घरमा बसेका धेरैको स्वास्थ्य सामान्य छ । तर, काठमाडौंका कुनै पनि अस्पतालमा आइसियू र भेन्टिलेटर खाली नै छैन । अब गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचार कहाँ गर्ने ?

कोरोना संक्रमितको मात्र नभएर अन्य रोगका गम्भीर बिरामीका लागि काठमाडौं उपत्यकामा आइसियू र भेन्टिलेटर छैन । त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक भन्छन्, ‘अब म कार्यरत अस्पतालमा मेरो नै आइसियू वा भेन्टिलेटरमा उपचार सम्भव छैन । आइसियूमा राख्नुपर्ने दर्जनौँ व्यक्ति हामीले फिर्ता पठाएका छौँ । केहीलाई आइसियूमा राख्न नसकेर सामान्य बेडमा राखिएका छन ।’
कोरोना संक्रमणले सबैभन्दा धेरै हाम्रो स्वासप्रश्वास प्रणालीमा असर गर्छ । यसको उपचार सम्भव नभए पनि व्यवस्थापन नै मुख्य उपचारको रुपमा लिइएको छ । अक्सिजनको कमि हुँदासाथ अक्सिजन दिने, ज्वरो आएकालाई ज्वरो कम हुने औषधि दिनेलगायतका स्वास्थ्य व्यवस्थापन नै कोरोनाको उपचार हो । सरकारले आइसियू, भेन्टिलेटर र आवश्यकता अनुसार अक्सिजनको व्यवस्थापनमा सरकार नराम्रोसँग चुकेको छ ।

काठमाडौं उपत्यकामा अब लक्षणसहितका संक्रमितले उपचार पाउने भन्दा पनि गम्भीर प्रकृतिका बिरामीले सामान्यरुपमा अक्सिजन नै नपाइकन मर्नुपर्ने अवस्था आउन थालेको छ । यसले नेपाल सरकारको तयारी र नागरिकको स्वास्थ्यप्रति सरकारको गैरजिम्मेवारपन देखाउँछ । नेपालीमा एउटा उखान छ ‘कुरा गर्ने ठूला, हिँड्न लागे खुट्टा लुला’को अवस्थामा सरकार पुगेको छ । ठूला ठूला भाषण दिने सरकारले सम्भावित महामारीको आंकलन गरेर काम नगर्दा अवस्था भयावह बन्न पुगेको छ ।

स्वास्थ्यमन्त्रीज्यू, अब नाच्ने कि छाता ओढ्ने ?

स्वास्थ्यमन्त्रीको हेर्नैपर्ने प्रतिनिधिसभाको यो भिडिओ
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि योजनावद्ध तयारी नगर्दा अहिलेकै अवस्थामा उपत्यकामा भयावहको अवस्था निम्तिएको छ । चैत ११ गतेदेखि लकडाउन गरेको सरकारले ‘लकडाउन’ बाहेक आइसियू, भेन्टिलेटर र आवश्यकता अनुसार अक्सिजन थप्नेमा कुनै पनि तयारी गरेन । अनुदानमा प्राप्त केही भेन्टिलेटर थपिएको छ । कोरोनाविरुद्धको अभियानमा प्रभावकारी काम गर्नुपर्नेमा सरकार बरु ओम्नीलगायतका विभिन्न काण्डमा फसेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गएको माघ २१ गते प्रतिनिधिसभाको बैठकमा सांसदहरुले कोरोनाविरुद्धको अभियानमा सरकारको तयारी फितलो भएको भन्दै प्रश्न उठाएपछि योजनावद्ध तयारी भइरहेको जानकारी गराएका थिए । उनले बिहानदेखि बेलुकीसम्म तयारी गरेको दावी गरेका थिए । आवश्यकताका आधारमा सरकारले सबै प्रकारको तयारी गरेको र संक्रमण फैलिन नदिनका लागि अहोरात्र खटिएको दावी गरेको ८ महिना बित्दा पनि सरकारले जोखिम न्युनिकरणमा कामै गरेको छैन ।
सदनमा ढकालले भनेका थिए, ‘चीनले सातामै हजार शय्याको अस्पताल बनायो भनियो । अर्को अस्पताल २ दिनमै बनायो भनियो, कोरोना भाइरस चीनमै देखिएकाले उसले द्रुत गतिमा काम गरिरहेको छ । चीनले जसरी नै तयारी गर्न यहाँ कोरोना संक्रमण छैन । त्यसैले चीन सरकार जसरी नाच्छ, त्यहीँ तरिकाले हामी नाच्नु पर्दैन । दिल्ली र बेइजिङमा पानी पर्दा नेपालमा आफ्नो आफ्नो पक्षको छाता ओढ्ने दिन अब छैन । हामी नोभल कोरोना भाइरसविरुद्ध तयारी अवस्थामै छौँ । हामी हाम्रो जोखिमको आंकलन गरेर तयारीमा छौँ । बिहानदेखि बेलुकीसम्म, अहोरात्र खटिरहेको छ ।’

स्वास्थ्य मन्त्री ढकालले चीनमा १७ हजार संक्रमित भएकाले चीनले अस्पताल बनाएको बताएका थिए । नेपालमा अहिले १ लाख ५ हजार भन्दा धेरै संक्रमित भइसकेका छन् । तर, मन्त्री ढकालले कति बेड आइसियू र भेन्टिलेटर सरकारले थप्यो भन्ने कुराको उत्तर दिन सक्छन् ? यसको उत्तर पनि ढकालले बेला बेलामा गैरजिम्मेवारपूर्ण तरिकाले दिने गरेका छन् । उनले कोरोनाले अमेरिका जस्तो देशलाई त हैरान पारेको छ, हाम्रो यो अवस्था हुनु सामान्य कुरा भएको तर्क गर्दै आएका छन् ।

स्वास्थ्यकर्मीको व्यवस्थापनमा झन् कमजोर

नेपालमा झण्डै १ हजार ५ सय स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको स्रोतलाई खोज्दै जाँदा त्रिवि शिक्षण अस्पताललगायतका अस्पतालहरु नै पर्छन् । पहिलो जोखिममा स्वास्थ्यकर्मी हुनु सामान्य हो । तर, स्वास्थ्यकर्मी परिचालनको सही तरिका नहुँदा केही समयमै स्वास्थ्यकर्मीको अभाव हुने अवस्था आउन थालेको छ ।

लकडाउनको सुरुवातमा स्वास्थ्यकर्मीको व्यवस्थापन गरेका अस्पतालहरुले संक्रमण बढ्दै जाँदा त्यसमा ध्यान दिन सकेका छैनन् । एकसाथ सयौँ स्वास्थ्यकर्मी संक्रमित हुन नदिनका लागि कसरी उनीहरुको स्वास्थ्यको सुरक्षा गर्ने र अभाव भएमा कसरी काम गर्ने भन्ने विषयमा पनि मन्त्रालयले ध्यान दिन सकेको छैन ।

मन्त्रालयको निर्देशन भन्दै संक्रमण मुक्त भएको १४ दिनमै काममा बोलाउने, स्वास्थ्यमा समस्या भए पनि काममा आउन पर्छ भनेर दबाब दिने र जोखिम भत्ता नदिने जस्ता समस्याले कोरोना संक्रमितको उपचारमा थप समस्या देखिने निश्चित छ ।

‘गाली र तालीमै रमाउने कल्चर’

स्वास्थ्यमन्त्री ढकाल नेकपाभित्रको गुट राजनीतिले उदायका नेता हुन् । उनको विगतका विषयमा चर्चा गर्नुभन्दा पनि उनले स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेपछिका केही विवादको चर्चा गर्दा सरकारको कामका विषयमा धेरै प्रष्ट हुन सकिन्छ ।

कोरोना महामारी सुरु भएपछि आफ्नो घरमा पाहुना आएकाले बोल्ने फुर्सद छैन भनेर दिएको अभिव्यक्तिले उनी ‘पाहुना ट्रोल’ नै बने । त्यस लगत्तै डाक्टरले भान्सामासमेत पिपिइ लगाएको आरोप लगाएर उनी थप विवादमा परे । उनी सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई प्रष्टीकरण सोध्न लगाएर पनि विवादमा परे ।

स्वास्थ्य सामग्री खरिद प्रकरणमा ओम्नी ग्रुपलाई महंगोमा ठेक्का दिएको विषयमा उनीमाथि अहिलेमात्र होइन, पछिसम्म पनि प्रश्न उठ्ने निश्चित छ । उनले तयारीकै विषयमा माथिको भिडियोमा गरेको प्रतिवद्धता र अहिलेको व्यवहार हेर्दा पनि पदीय नैतिकता कायम हुन सक्दैन ।

मन्त्री ढकालले लकडाउनको कार्यान्वयन नभएपछि विभिन्न देशका स्वास्थ्यमन्त्रीले राजीनामा दिएको कुरा स्मरण गर्छन् होला नाइ ? तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा रहेका नेपाली विद्यार्थीबारे दिएको अभिव्यक्तिकै कारण राजीनामा दिएपछि आफू मन्त्री बनेको कुरा ढकालले महसुस गर्छन् कि गर्दैनन् होला ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]