काठमाडौं । सरकारले भोलिदेखि सञ्चारकर्मीहरुलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउने व्यवस्था मिलाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आइतबार एक विज्ञप्ति जारी गर्दै नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालबाट सञ्चारकर्मीलाई खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिएको हो । आइतबार बसेको सचिवस्तरको निर्णय अनुसार सञ्चारकर्मीलाई खोप लगाउने व्यवस्था मिलाइएको केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिए ।भोलिदेखि पाँचदिनसम्म सञ्चालन हुने खोप अभियानका लागि स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप सचिवालयमा सम्पूर्ण सञ्चारकर्मीहरुको विवरण यथाशीघ्र उपलब्ध गराउन समेत केन्द्रले आग्रह गरेको छ ।
यसअघि सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वमसेविका, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहनका चालक, कैदी बन्दी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा लगायतलाई कोरोना खोप लगाउने व्यवस्था गरेको थियो ।