अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथिको आर्थिक प्रतिबन्ध तत्काल फुकुवा नगर्ने स्पष्ट पारेका छन् ।
सन् २०१५ मा भएको परमाणु सम्झौता अनुसारका शर्त स्वीकार नगरेसम्म इरानमाथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध फुकुवा नहुने राष्ट्रपति बाइडेनले स्पष्ट पारेका हुन् । सिबिएस न्यूजसँगको अन्तर्वार्ताको क्रममा बाइडेनले इरान नीतिमा तत्काल कुनै परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।तर इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले भने अमेरिकीले सबै प्रकारका आर्थिक प्रतिबन्ध फुकुवा गरेपछि मात्रै इरान सन् २०१५ को सम्झौतामा फर्किन सक्ने बताएका छन् ।सन् २०१५ मा भएको सम्झौतामा इरानको परमाणु कार्यक्रम सीमित गर्ने र त्यसको बदलामा उसमाथिको प्रतिबन्ध फुकुवा हुने उल्लेख छ ।अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई सो सम्झौताबाट सन् २०१८ मा बाहिरिएको घोषणा गरेका थिए ।
उनले इरानमाथि पुनः प्रतिबन्ध लगाए र इरानले आफ्नो परमाणु कार्यक्रमलाई बढावा दिएको थियो । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको बताउँदै आएको छ ।बाइडेनले अन्तर्वार्ताको क्रममा चीनसँगको सम्बन्धबारे पनि बोलेका छन् । उनले चीनसँगको तनावको कुनै अर्थ नरहेको तर दुई देशबिच तीव्र प्रतिस्पर्धा भने रहेको र रहनु पर्ने बताए ।
बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हाले यता चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सीधा कुराकानी गरेका छैनन् ।