बुटवल– तय गरेको लक्ष्यअनुसार कोरोना भाइरसविरुद्धको खोप लगाउन लुम्बिनी प्रदेश सरकार असफल भएको छ। खोप ऐच्छिक गरिएकाले तोकिएको लक्ष्यभन्दा कममा खोप लगाइएको सरकारको दाबी छ।
लुम्बिनी प्रदेश सरकारले पहिलो चरणमा ३५ हजार ४९५ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखेको थियो। तर, माघ २४ गतेसम्म लुम्बिनीका १२ वटै जिल्लामा गरी २८ हजार ९५१ जनामा कोरोना विरुद्धको खोप लगाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।भारतबाट आएको १० लाखमध्ये ३९ हजार ४९५ जनाको लागि ८७ हजार ६७९ डोज खोप लुम्बिनी प्रदेशमा ल्याइएको थियो। सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार २९ हजार ४० डोज मात्रै खर्च भएको छ। पहिलो चरणका लागि आएको ५८ हजार ६ सय ६३ डोज खोप भने अझै बाँकी छ। शुरुवातदेखि नै लुम्बिनीमा खोप वितरण तथा खोप अभियानका कार्यक्रमको गति सुस्त भएको थियो। संघीय स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले समाजिक विकास मन्त्रालयका कर्मचारीलाई समेत खोप अभियानको गति सुस्त भएको भन्दै निर्देशन दिएका थिए।कोरोना विरुद्धको खोप लगाउन मन्त्रालयका कर्मचारी, स्वास्थ्यकर्मी नै अघि नसरेपछि शंका गरेकाले खोप लगाउनेको संख्यामा कमी आएको हो। पहिलो डोज खोप दिइएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्रलाल अर्यालले खोपलाई ऐच्छिक गराएकाले लक्ष्यअनुसार खोप अभियान सञ्चालन गर्न नसकेको बताए।
रुकुममा थोरै, रुपन्देहीमा धेरै
२५ वटा खोप केन्द्र मार्फत लुम्बिनीका १२ वटै जिल्लामा पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो।पहिलो चरणमा सबैभन्दा धेरै कोरोना विरुद्धको खोप रुपन्देहीमा लगाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा ६ हजार ७९१ जनालाई खोप दिइएको छ। यहाँ ६ हजार ८ सय २० डोज दिइएको हो। लुम्बिनीमा सबैभन्दा थोरै रुकुममा ३ सय ८२ जनाले खोप लगाएका छन्। यहाँ ३ सय ७० डोज खोप खपत भएको छ। यसैगरी कपिलवस्तुमा २ हजार २ सय २६, दाङमा ३ हजार ५ सय ४६, बाँकेमा ४ हजार ९ सय ६७, बर्दियामा १ हजार ९ सय ३१, नवलपरासीमा १ हजार १ सय ५२, अर्घाखाँचीमा १ हजार ३ सय ७८, पाल्पामा २ हजार ७ सय १२, गुल्मीमा १ हजार ७ सय ४५, रोल्पामा ९ सय ८७ र प्यूठानमा १ हजार १ सय ३४ जनामा कोरोना विरुद्धको खोप लगाइएको छ।लुम्बिनीमा पहिलो चरणमा ०.३१ प्रतिशत खोप खेर गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। हालसम्म २७ हजार कोरोना संक्रमित भएका छन भने ३ सय ९१ जनाको मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सरकारले पहिलो चरणमा ल्याएको कोरोना विरुद्धको खोपको प्राथमिक सूचीमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन, सफाइकर्मीलाई राखेको छ। लु्म्बिनी प्रदेशमा पनि संघीय सरकारले बनाएको मापदण्ड अनुसार नै खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म खोप दिइएकामध्ये सबैभन्दा धेरै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई दिइएको छ। प्रदेशमा हालसम्म दिइएका खोपमध्ये ४३.२ प्रतिशत स्वास्थ्यकर्मीले खोप लगाएका छन्। यसैगरि स्वास्थ्य संस्थाका अन्य कर्मचारीले १४ प्रतिशतले खोप लगाएका छन।
यसैगरी महिला स्वास्थ्य स्वयंसेविका २२.४ प्रतिशत, पालिकाका सरसफाइकर्मी २.८ प्रतिशत र अन्य शव व्यवस्थापनक तथा सुरक्षाकर्मीलाई खोप दिइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।