सप्तरी – विराटनगरको विराट नर्सिङ होम अर्थात् विराटनगर अस्पतालले रिपोर्ट पोजिटिभ आएपनि डिस्चार्ज दिएका कोरोना संक्रमित एक पुरुषको घर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । लापरबाहीपूर्ण तरिकाले अस्पतालले डिस्चार्ज दिएका मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका ४८ वर्षीय पुरुषको बिहीबार साँझ ७ :४० बजेतिर घर नपुर्याइकन बीच बाटैमा मृत्यु भएको हो ।
परिवारका अनुसार श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि उनलाई उपचारका लागि गत बुधबार अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएका उनको बिहीबार बिहानै रिपोर्ट पोजिटिभ आएको रतुवामाई नगरपालिकाका मेयर रविन राईले बताए ।
उनका अनुसार रिपोर्ट पोजिटिभ आएर कोरोना पुष्टि हुँदाहुँदै उपचार ठीक नहुने भनेर घर लैजानुभन्दै अस्पतालले डिस्चार्ज दिएर पठाएको पाइयो । मृतकको दुवै मृगौलाले काम गर्न छाडेको र मधुमेह तथा दमको पुरानै समस्या रहेको राईले बताए । मेयर राईका अनुसार उपचारका लागि भनेर गम्भीर अवस्थामा भर्ना गरिएका पुरुषलाई आकस्मिक कक्षबाटै अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
तर अवस्था गम्भीर बनेकाले उपचार सम्भव नहुनेभन्दै रिपोर्ट पोजिटिभ आइसकेपछि अस्पतालले डिस्चार्ज दिएर बिरामीलाई जिम्मा लगाएको उनको भनाइ छ । उनका अनुसार ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएका पुरुषको शव घर पुर्याएपछि हेर्नका लागि भनेर ठूलो भीड जम्मा भएको थियो ।
त्यसपछि मात्रै रिपोर्ट पोजिटिभ आएको आफूहरुले थाहा पाएको जानकारी राईले दिए । ‘रिपोर्ट पोजिटिभ आएपछि परिवारलाई जिम्मा नलगाइकन अस्पतालमै बिरामी राख्नुपर्ने हो,’ उनले भने, ‘कोरोना पुष्टि भएका व्यक्तिलाई घर लैजान अनुमति दिनु अस्पतालको चरम लापरवाही र बद्मासी हो ।’ उनका अनुसार सिजुवा बजार क्षेत्रका धेरैजना मृतकको शव हेर्न घरमा पुगेका कारण परिवारका सदस्यसहित उनीहरु पनि कोरोनाको जोखिममा परेका छन् ।
‘कोरोना लागेको मान्छे बाँच्दैन भनेर कसरी अस्पतालले पूर्वानुमान गर्यो भन्ने कुराले हामी नै छक्क परिरहेका छौं, ‘मेयर राईले भने, ‘बिरामीमा रहेको दीर्घरोगको पाटो अर्को कुरा हो ।’
घर पठादिएर बाटोमै मृत्यु भएका संक्रमितबाट अरुमा संक्रमण फैलिन सक्ने सम्भावना भएकाले सिंगो बजार र परिवार नै असुरक्षित हुनुमा अस्पताल जिम्मेवार हुने उनको आक्रोश छ । धेरैजना जोखिममा परेपछि बजार नै सिल गर्नुपर्ने अवस्था आएको उनले बताए ।
मृतकका एक आफन्तले उपचार ठीक नहुने भन्दै डिस्चार्ज दिएपछि घर ल्याउनै पर्ने बाध्यतामा परेको बताए । ‘अस्पतालले कोरोनाले केही हुँदैन लैजानुस् भनेर बिरामी साँझ ६ बजेतिर जिम्मा लगाइदियो, ‘उनले भने, ‘घर ल्याउँदाल्याउँदै बाटैमा मृत्यु भएपछि हामीनै अलमलमा पर्यौं ।’
इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णु खड्काले मृत्यु भएका संक्रमितको घरलाई सिल गर्दै शव सुरक्षित राखेर व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाउने तयारी भइरहेको बताए ।
अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले भने अस्पतालबाट बिरामी लगिसकेपछि कोरोना रिपोर्ट पोजिटिभ आएको बताए । ‘पुराना विभिन्न रोग रहेका बिरामीलाई चिन्ताजनक अवस्थामा अस्पतालमा भर्ना गरिएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो,’ उनले भने, ‘उपचार सफल नहुने भएपछि परिवारका सदस्यले लैजान्छौं भनेर जिद्धि गरेपछि डिस्चार्ज दिइएको हो ।’ उनका अनुसार मोरङको बूढीगंगामा रहेको विराट शिक्षण अस्पतालको प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गरिएको हो ।
रिपोर्ट नआइकनै उपचार गर्दा पनि नबाँच्ने भए लैजान्छौं भनेका कारण परिवारलाई बिरामी जिम्मा लगाएर पठाएको र पछि रिपोर्ट पोजिटिभ आएपछि जानकारी गराइएको विनाडीको भनाइ छ ।
‘संक्रमित बिरामीलाई हामी कहाँ घर लैजान दिन्छौं ?’ उनले भने, ‘उपचारका लागि कोभिड अस्पताल तिर पो लैजान्छौं त ।’ मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना पुष्टि भएका बिरामीलाई अस्पतालले डिस्चार्ज दिएर घर पठाएको जानकारी आफूले पनि पाएको बताए ।
‘परिवारका सदस्यकै जबरजस्तीका कारण बिरामी पठाइएको हो भन्ने जवाफ अस्पतालले दिएको छ,’ उनले भने, ‘संक्रमण पुष्टि हुँदाहुँदै अरुलाईसमेत जोखिममा पार्ने गरी बिरामी डिस्चार्ज गरेर घर पठाउनु अस्पतालको लापरवाही हो ।’ यस बारेमा थप बुझ्ने काम भइरहेको बताउँदै निरौलाले लापरबाही गर्ने अस्पतालमाथि छानबिन थालिने जानकारी दिए ।