विराटनगर । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधान मिचेर नेकपाले अपराध गरेकाे आरोप लगाएका छन् ।
विराटनरमा नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको विचार गोष्टीमा थापाले नेकपाका नेताहरूले जनता समक्ष माफी माग्नुपर्ने बताए । ‘नेकपालाई ५ बर्षको लागि सरकार चलाउने जिम्मा दिएर जनताले पठाएका हुन् । कसैलाई आरोप लगाउने भन्दा नेकपाका शीर्ष नेताहरुले जनतासमक्ष माफी माग्नुपर्छ’, नेता थापाले भने ।अबको निर्वाचनमा जनताको मतलाई जनताको मतबाटै ठेगान लगाउने उनले चेतावनी दिए । ‘अब मुलुक निर्वाचनमा गयो, गयो । अब जनताले निर्वाचनबाट नै नेकपालाई ठेगान लगाउनेछन्,’ उनले भने, ‘निर्वाचन गराउनको लागि संविधान जहाँनिरबाट उल्लंघन गरिएको छ, त्यहीँबाट ठिक ठाउँमा ल्याउने हो ।’
संसद पुनः स्थापित भएपछि निर्वाचनमा जान सकिने उनको ठहर छ । ‘नेपाली कांग्रेसलाई अहिलेको निर्वाचनले सरकारमा जाने जनादेश नदिएको, नेकपा टुटेको तथा नेकपा भन्ने पार्टी नै नभएको अवस्थामा अबको विकल्प भनेको चुनाव नै हो’, थापाले भने, ‘तर चुनावमा जानको लागि संबिधानले भनेको ठाउँमा आएर व्यवस्थित ढंगले जाने हो ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने दाबी गरे ।राष्ट्रपतिले प्रधानमन्त्रीले गरेको निर्णय फिर्ता पठाउनुपर्नेमा आँखा झिम्काउन नपाउँदै स्वीकृत गर्नुले राष्ट्रपतिमाथि विभिन्न टिकाटिप्पणी र आक्षेप लागेको उनले बताए । अदालतले सही निर्णय गर्नेमा आफू ढुक्क रहेकाे पनि उनले बताए ।यस्तै नेता थापाले रामकुमारी झाँक्री पक्राउ परेकाबारे पनि धारणा राखे । बोल्न पाउने अधिकारलाई कसैले कुण्ठित गर्न नहुने थापाकाे भनाइ छ । ‘राष्ट्रपति व्यक्ति हाेइन संस्था हो । तर नेपालको राष्ट्रपतिले त्यो संस्थाको मर्यादा र गरिमा राख्न सक्नु भएन’, नेता थापाले भने ।
आफूले पनि राष्ट्रपतिको बारेमा बोलेको जानकारी दिँदै राजद्रोहको मुद्दा लगाएर देखाउन चुनौती दिए । उनले भने, ‘संसद पुनःस्थापना भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई चपलीमा रहेको उनको घरमा फिर्ता पठाउने भनेर मैले पनि बोलेको छु । हिम्मत भए राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ ।’