काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गरेर गल्ती सच्याउन आग्रह गरेका छन् ।
कांग्रेस चुनावको पक्षमा रहेको प्रस्ट पार्दै चुनावबाटै समस्याको निकास निकाल्नुपर्नेमा जोड दिए । “प्रधानमन्त्रीज्यू तपाईंले गर्नुभएको अपराध पखाल्न निर्वाचन गर्न जानुस् र सच्चिनुहोस्,” राजधानीमा आज आयोजित साक्षात्कारमा उनले भने, “चुनाव गर्न सक्नुभएन भने इतिहासमै सबैभन्दा बाढी कालो धब्बा लगाउनुपर्छ ।” उनले देशमा चुनाव हुने सुनिश्चितता अनिवार्य भएको बताए । कांग्रेस चुनावका लागि तयार रहेको पनि बस्नेतले स्पष्ट पारे ।
अदालतलाई थ्रेट दिने कार्य कहीं कतैबाट हुन नहुने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूले अदालतलाई धम्की दिइरहेको भन्दै आलोचना गरे । उनले भने, “अदालतलाई कसैले थ्रेट दिन मिल्दैन । केपी ओलीजी र विरोधीहरूले अदालतलाई थ्रेट दिन मिल्छ ?” कांग्रेस अदालतको निर्णयलाई पर्खन तयार भएको पनि बस्नेतले बताए । अदालतको फैसलालाई धैर्यसाथ कुर्न पनि उनले आग्रह गरे । देशमा संविधान खतरामा रहेको र ट्रयाकमा ल्याउन पनि चुनाव जरुरी रहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले वातावरणलाई त्रसित बनाइरहेको आरोप लगाए ।
प्रतिनिधिसभा पुनर्बहाली भए पनि कांग्रेस मान्न तयार रहेको उनले बताए । कम्युनिस्टहरूले सत्ता र पैसाका लागि लडाइँ गरिरहेको उनको आरोप छ । उनले भने, “यो कम्युनिस्टहरूको लेनदेन, पैसा र सत्ताको लडाइँ हो ।” देशमा ठुलो संकट आउनसक्ने भन्दै सचेत रहनुपर्ने उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर लोकतन्त्रको घाँटी निमोठेको उनको टिप्पणी छ ।