काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रतिनिधि सभाको विघटन संसदीय व्यवस्थाको असफलता भएको बताएका छन् ।
नेकपा क्रान्तिकारी माओवादी ३ नंम्बर प्रदेशले २६ औं जनयुद्ध दिवसको अवसरमा शनिबार काठमााडौंमा गरेको युवा मार्चपासको समापन कार्यक्रममा उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरू लागेको बताए । उनले दुई तिहाई बहुमतको धाक देखाएको सरकार पूर्णरूपमा अफल भएको बताए । दलहरूकै कारण जनयुद्धका आशिंक उपलव्धी नै गुम्ने खतरा भएको उनले बताए । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरलले नेपालको संसदीय व्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने बताए । प्रतिनिधि सभाको विघटनपछि दलहरूको व्यवहारका कारण जनताहरू नै अलमलमा परेको उनको भनाइ छ ।
त्यसअघि काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको मार्चपास पुरानो बसपार्क, शहीदगेट, सुन्धारा, वायुसेवा निगम, न्युरोड गेट, वीरअस्पताल हुँदै पुनः शान्तिबाटिकामा पुगेर जनसभामा परिणत भएको थियो । जसभामा पार्टीका महासचिव मोहन वैद्यले २६ वटा मशाल बालेर र २६ वटा तोप पड्काएर जनयुद्ध समारोह तथा जनसभाको शुभारम्भ गरेका थिए ।