सोल (दक्षिण कोरिया)- नेपालको राजनीतिक हावाको वेग विदेशमा श्रम गर्ने नेपालीसम्म सजिलै आईपुग्छ। सूचना र सञ्चारको तीव्र विकासले देश र प्रवासको दूरी घटाएकाले पनि नेपालमा हुने राजनीतिक क्रियाकलापको क्रियाप्रतिक्रिया विदेशबाट पनि व्यक्त हुन थालिहाल्छ।
नेपालमा क्रियाशील मूल पार्टीका भ्रातृ संगठन दक्षिण कोरियामा पनि सक्रिय छन्। त्यसो त कोरियामा रोजगारीका लागि आउने विदेशीले राजनैतिक गतिविधि गर्न अनुमति छैन। यद्यपि लुकिछिपी हुने नेपालीको राजनीतिलाई कोरियाको कानुनले अहिलेसम्म दख्खल गरेको छैन। गैरआवासीय नेपाली संघको अधिवेशनमा त स्पष्ट रुपमा प्रवासमा नेपाली राजनीतिको सरगर्मी दख्न पाइन्छ। यहाँका नेपालीका राजनैतिक संगठन नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समिति र नेकपा सम्बद्ध प्रवासी नेपाली एकता मञ्च हुन्। यसका साथै अन्य क्षेत्रीय पार्टीका प्रवास संगठनले पनि कोरियामा गतिविधि गरिरहेका हुन्छन्।
यसअघि माउ पार्टी एमाले र माओवादीले एकता गरिसकेपछि कोरियामा पनि माओवादीको प्रवास संगठन र एमालेको प्रवास संगठनको एकता गरी प्रवासी नेपाली एकता मञ्च बनाइएको हो।तर माउ पार्टीमा उतारचढाव आएसँगै कोरिका नेकपा समर्थक पनि ओली पक्ष र प्रचण्ड-माधव पक्षका रूपमा विभक्त छन्। कोरियामा छुट्टाछुट्टै कमिटी गठन भएका छन्। एलिसा नेपालीको नेतृत्वमा ओली पक्ष र दीलिप धितालको नेतृत्वमा प्रचण्ड-माधव पक्ष कोरियामा क्रियाशील भएको छ। म्यानमारमा सेनाले ‘कू’ गरिसकेपछि त्यसको विरोधमा कोरियामा श्रम गरिरहेका त्यहाँका नागरिकले प्ले कार्ड बोकेर सेनाको उक्त कदमको विरोध गरिरहेका छन्। यसको प्रत्यक्ष अप्रत्यक्ष असर नेपालीमा पनि देखिएको छ। कोरियाको बुसान सहरमा शनिबार प्रचण्ड-माधव पक्षले गरेको भनिएको र्यालीका विषयमा भने यहाँका नेपालीले विरोध गरिरहेका छन्। यहाँका नेपालीहरु धेरै जोडिएका फेसबुक ग्रुपहरुमा कोरियामा नेकपाले कहाँ कहाँ बन्दको आह्वान गरे भनी व्यंग्य पनि गर्न थालिएको छ। फेसबुक ग्रुपहरुमा धेरै नेपालीहरुले कोरियामा आएर नेपालको जस्तो फोहोरी राजनीति नगरी सबै नेपालीहरु एकताबद्ध हुनुपर्ने आशय व्यक्त गरिरहेका छन्।
प्रचण्ड-माधव समूहले कोरियामा र्याली निकालेकै हो त? प्रचण्ड-माधव समूहले कोरियामा र्याली गरेको समाचारको चर्चा सबैतिर भईरहँदा पनि संगठनका अध्यक्ष दीलिप धितालले भने आफूले पनि समाचारमा मात्रै देखेको तर जानकारी नभएको बताए।संगठनको केन्द्रीय कार्यक्रम कोरियामा त्यस किसिमका र्याली गर्नु नभएको र प्रतिगमनका विरुद्धमा छलफल गर्ने कार्यक्रम बुसान कमिटीले गर्न लागेको जानकारी आफूले पाएको धितालको भनाई छ।‘संगठनमा आवद्ध बुसानका साथीहरुले सामान्य भेटघाट तथा खानपिन गर्ने कार्यक्रम भएको हामीलाई जानकारी गराउनुभएको थियो। त्यही मौकामा फोटो खिचेर समाचार बनाउनुभएको होला। बाँकी जानकारी भएन,’ उनले भने। धितालले र्यालीमै सहभागीसँग बुझ्न सुझाएपछि हामीले प्रचण्ड-माधव समूहले कोरियामा र्याली गर्यो भन्ने आशयका समाचारहरुका ब्यानर फोटोमा देखिएका सहभागी मध्येकी एक संगठनकी महिला संयोजक निर्मला खड्कासँग सोध्यौँ। तर खड्काले भने आफूहरुले भेटघाट गरी फोटो मात्र खिचिएको तर समाचारमा भनिए जस्तो र्याली नभएको स्पष्ट पारिन्।
सोही फोटो राखेर नेपालको एउटा प्रतिष्ठित अनलाइन र कोरियाको हेलो नेपाल कोरिया डटकममा समाचार प्रकाशित भएका थिए। यी आधिकारिक संचारमाध्यममा प्रकाशित समाचारलाई कोरियामा फेसबुक ग्रुपमा सेयर गरी कोरियाका नेपालीहरूबीच भाइरल बनाउने स्पर्धा चलेको छ। गलत तथ्यमा आधारित यो समाचारलाई कपिपेस्ट गरी अफवाह फैलाइएको छ।