अहिलेसम्म कति गीत गाइन्, औंला भाँचेर गनेकी छैनन् गायिका अनु चौधरीले। गन्ती नै नगरे पनि अरु भाषाको भन्दा थारु भाषाको गीत धेरै गाएको सम्झना भने उनलाई छ।
काठमाडौं आउनुअघि नै थारु भाषाका थुप्रै गीत गाइसकेकी थिइन् उनले। करिब ढेड वर्षअघि गीत गाउनकै लागि राजधानी छिरेकी अनुले त्यसपछि यतै डेरा जमाइन्। हुन त उनी बेलाबखत गीत गाउन पहिले पनि राजधानी आउँथिन्। कैलालीदेखि काठमाडौं आउने–जाने खर्च धेरै हुन थालेपछि उनले यतै डेरा खोजेकी हुन्।
अनुले गाएका थारु भाषाका गीत ‘दिन गिन गिन’ युट्युबको ट्रेन्डिङमा पर्यो। यो गीतभन्दा अघि गाएको ‘मन लागेना अब बिन तोहार’ ले पनि टिकटकमा करिब २६ हजारको हाराहारीमा भिडियो बनायो। थारु, भोजपुरी र मैथिली समुदायमा मात्रै चर्चा कमाउन छाडेर बाहिर निस्किएको यी दुई गीतले अनुको लोकप्रियता अझै बढायो। अनुले थारु भाषाको गीत मात्रै हैन, मोफसलमा छँदै अन्य भाषाको गीतमा पनि स्वर मिलाएकी थिइन्। यो क्रम काठमाडौं आएपछि झनै बढेको छ।
उनले नेपालका तराई क्षेत्रमा बोलिने प्रायः भाषामा गीत गाइसकिन्। मैथली, भोजपुरी, हिन्दी भाषाका गीतहरुले उक्त भाषा बोल्ने स्रोतामा राम्रो प्रभाव पनि पार्न सफल भयो। ‘थारु भाषाको गीत त झन् नेपालको युट्युब ट्रेन्डिङमा समेत पर्न थालेको छ,’ उनले सुनाइन्। अनुका अनुसार थारु भाषा पनि क्षेत्र अनुसार फरक हुन्छ। चितवनतिर छुट्टै भाषा बोल्छन् अनि कैलालीतिर छुट्टै। यसलाई पूर्वको थारु भाषा र पश्चिमको थारु भाषा भनेर छुट्याउँदै उनले भनिन्, ‘मैले पूर्वको थारु भाषामा पनि गीत गाएँ।’
उनले अनुभव सुनाइन्, ‘पूर्वको थारु भाषा अप्ठ्यारो छ। म थारु नै भए पनि पूर्वका थारुले बोल्ने भाषा बुझ्दिनँ। भाषा नबुझेरै गीत गाएँ। त्यही भएर मलाई संगीतको कुनै भाषा हुँदैन जस्तो लाग्छ। विभिन्न भाषाभाषीको गीतमा आवाज भर्दाभर्दै उनले गीतको संख्या गन्न भुलिन्। कतिपय गीत सार्वजनिक पनि भएका होलान्, कति गीत कता पो पुगेका छन् उनी आफैंलाई थाहा छैन। उनी निकै व्यस्त गायिकामा पर्छिन्। एक दिनमा तीन वटासम्म गीत रेकर्ड गरेको अनुभव छ उनीसँग। दिनमा एउटा गीतको रेकर्डिङ त सधैंजसो भइरहन्छ।
कैलालीको प्रतापपुर, लम्कीमा जन्मिएकी अनुले सुरुवाती दिनमा धनगढीका स्टुडियोहरु गुन्जाइन्। पहिलो गीतको रेकर्डिङ सम्झँदै अनुले भनिन्, ‘धनगढीको एक स्टुडियोमा मनिराम चौधरीको गीत गाएको थिएँ। मेरो ठूलोममीले एक जना चिनेको मान्छे छ, उसको गीत गाउँछौं? किताब पनि लेखेको मान्छे। मनिराम चौधरीको गीत गाउने भनेपछि मैले हुन्छ भनेँ।’उनका अनुसार ‘माटी कोरे गैली’ बोलको कल्चरल गीत उनको आवाज पाउने पहिलो गीत हो। भनिन्, ‘एउटा एल्बम निकाल्ने, त्यसमा भएको गीतमध्ये एउटा गीत मैले गाउने भन्ने थियो। तर मेरो आवाज उहाँहरुलाई राम्रो लागेर एउटा बाहेक सबै गीत मैले नै गाएँ।’त्यसो त, उनलाई आफू मिडियामा आउँला, गीत गाएरै चर्चा कमाउँला, यसैले परिवार पाल्न सकुँला भन्ने लागेको थिएन। अनुले हाँस्दै भनिन्, ‘मेरो आवाज यति धेरै मनपर्ने खालको छ भन्ने नै थाहा थिएन।’
सुरुवाती दिनमा गायिक बन्छु भन्ने नलागे पनि पहिलो गीतलाई धेरैले मन पराएपछि भने उनलाई यस क्षेत्रमा रस बस्न थाल्यो। थारु समुदायको माया पाएपछि मात्रै उनले यो क्षेत्रमा आफ्नो भविष्य देखिन्। अहिले भने थारु गीतलाई केही हदसम्म माथि उठाउन सकेजस्तो अनुभव उनलाई हुन्छ। अनुले भनिन्, ‘पहिले त म आफैं पनि थारु गीत सुन्दैनथें। केही राम्रा गीत गाउनेहरु पनि थिए तर प्रायः गीत सुन्दा त आफैंलाई लाज लाग्थ्यो, यस्तो पनि हामो गीत–संगीत हो र भनेर। उनले गीत गाउन थालेदेखि घरमा पैसाका लागि हात पसार्नुपरेको छैन। भनिन्, ‘मैले पहिलो गीत गाएदेखि नै स्टेजका कार्यक्रम पाउन थालें। सुरुमा पैसाको बारेमा बार्गेनिङ नगरे पनि बाटो खर्च भनेर दिन्थे। अहिले त स्टेजको पैसा तोकेरै लिन्छु।’कुनै दिन तीन वटासम्म गीत रेकर्ड गर्ने अनुले रेकर्डिङको पैसाभन्दा स्टेजमा गाएको पैसा धेरै लिन्छिन्। कोरोना महामारीपछि भने रेकर्डिङकै पैसाले जिन्दगी चलाइरहेकी छन्। उनलाई गीत–संगीतको क्षेत्रमा अन्य कलाकारले जस्तो धेरै संघर्ष गर्नुपरेन। ‘म यो मानेमा भाग्यमानी भएँ किनभने मैले गीत खोज्दै होइन, गीतले मलाई खोज्दै आयो,’ उनले भनिन्।
तर, नेपाली गीत गाउँदा भने भाषाको समस्या केही हदसम्म भोगिन् उनले। भनिन्, सुरुसुरुमा शुद्ध नेपाली बोल्न समस्या हुन्थ्यो। तर अहिले भने खासैसमस्या छैन। उनले हाँस्दै भनिन्, ‘बोल्दा मात्रै थारु भाषाको टोन आउने हो, गीत त शुद्ध गाउँछु।’