एजेन्सी – सैन्य ‘कू’ पछि म्यानमारमा भएको प्रदर्शनका क्रममा २० वर्षीया एक महिलाको मृत्यु भएको छ ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएकी उनी सैन्य कू को विरोधमा भएको प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी हुन् ।म्ये थ्वी चैइङ नामकी उनी गत हप्ता प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकी थिइन् । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले वाटर क्यानन, रबरको गोली र वास्तविक गोली चलाउँदै आएको छ ।
अधिकारवादी समूहले उनीमाथि वास्तविक गोली लागेको बताएका छन् । आङ सान सूची नेतृत्वको पार्टीको सरकारलाई हटाएर म्यानमारमा सैन्य कू भएपछि त्यसको विरोधमा पछिल्लो समय दैनिक जसो प्रदर्शन हुँदै आएको छ ।राजधानी नेपितस्थित अस्पतालले स्थानीय समयानुसार विहान ११ बजे ती महिलाको मृत्यु भएको पुष्टि गरेको हो । परिवारका अनुसार आइतबार उनको अन्तिम संस्कार गरिने छ ।
म्यानमारका सरकारी अधिकारीहरुले उक्त घटनाको अनुसन्धान हुने बताएका छन् । गत फेब्रुअरी ९ मा गोली लागेर घाइते भएकी उनलाई अस्पताल भर्ना गरिएको थियो ।