काठमाण्डाै – बृहत् नागरिक आन्दोलनका तर्फबाट घोषणापत्र जारी भएको छ । प्रतिनिधि सभा विघटनको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको बृहत् आन्दोलनले टुँडिखेल मार्चपास आयोजना गरेर घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा आदिवासी, जनजाति, महिला, दलित, मधेशी, यौनिक अल्पसङ्ख्यकलगायत विभेद भोगेका समुदायको अधिकार, अपनत्व, आत्मसम्मान र स्वामित्व सुनिश्चित हुने लोकतन्त्रको परिकल्पना गरिएको छ ।
अहिलेको सरकारले नागरिक आन्दोलन, उपलब्धि र नागरिक अधिकारलाई उपेक्षा गरेको भन्दै घोषणापत्रमा सरकारका कामले राजनीतिक गतिरोध र प्रणालीगत सङ्कट सिर्जना गर्दै देशलाई अन्याेल र मुठभेडतर्फ लगेको उल्लेख छ ।
नागरिक आन्दोलनले सङ्घीयताका नाममा हाबी एकात्मक चिन्तन र केन्द्रीकृत शासकीय सोचलाई चिर्ने कामका एकजुट हुन आह्वानसमेत गरेको छ । नागरिक समाजले सुरु गरेको यस आन्दोलनमा विभिन्न समूहले ऐक्यबद्धता जनाएका छन् ।