उबरका चालकहरुलाई स्वरोजगार नभएर श्रमिकहरुको जसरी सेवा सुविधा प्रदान गर्न बेलायतको सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको याे फैसलापछि उबरका हजारौं चालकहरुले अब न्यूनतम तलब र बिदा भत्ता पाउने भएका छन् ।
यससँगै अब उबर एप कम्पनीले ‘गिग’ अर्थतन्त्रका लागि भारी जरिवाना तिर्नुका साथै व्यापक परिणामको सामना गर्नुपर्नेछ । तर उबरले अदालतको निर्णय चालकहरुको एउटा सानो झुण्डको हकमा केन्द्रित भएको र आफूले आफ्नाे व्यवसायमा परिवर्तन ल्याइसकेको बताएको छ । लामो समयदेखि चल्दै आएको कानूनी लडाईंको क्रममा उबरले तीनवटा मुद्दा हारिसकेपछि सर्वोच्च अदालतमा अपिल गरेको थियो । सर्वोच्चको त्यस्तो आदेशपछि उबरको शेयर मूल्य पनि एक प्रतिशतले ओरालो लागेको छ ।
हाल उबरलाई धेरै मुलुकहरुमा उसका चालकहरुले आफूहरुलाई श्रमिक वर्गमा वर्गीकरण गर्न चुनौती दिँदै आइरहेका छन् । २०१६ को अक्टोबरमा उबरका दुई पूर्व चालक जेम्स फारर र यासिन अस्लमले उबरविरुद्ध दायर गरेको ‘इम्प्लोयमेन्ट ट्रिब्युनल’ मुद्दामा जीत हासिल गरेको थिए ।बेलायतको सर्वोच्च अदालतको पछिल्लो आदेशले आफूहरु एकदमै खुशी र सन्तुष्ट भएको उनीहरुले बताएका छन् । त्यसो त उबरले त्यसबेला पनि इम्प्लोयमेन्ट ट्रिब्युनलको आदेश विरुद्ध पुनरावेदन दिएको थियो । तर इम्प्लोयमेन्ट अपिल ट्रिब्युनलले २०१७ नोभेम्बरमा अघिल्लाे फैसलालाई सदर गरेको थियो ।
कम्पनीले उक्त मुद्दालाई पुनरावेदन अदालतमा पनि लगेको थियो । उक्त अदालतले पनि २०१८ डिसेम्बरमा पुरानै आदेशलाई सदर गरेको थियो । शुक्रबारको आदेश भने उबरको अन्तिम अपिलपछि आएको हो । सर्वोच्च अदालतका न्यायाधीश लर्ड लेगेटले आफ्नो आदेशमा उबर इन्टरमेडियरी पार्टी भनेर पन्छिन नपाउने भन्दै उबरका चालकहरु श्रमिक भएको र यात्रुलाई सेवा दिने समयमा मात्र होइन, उनीहरुले एपमा लगइन गर्दा पनि उनीहरुले काम गरेको ठहर हुनुपर्ने बताएको छ ।
अदालतले यस्तो आदेश दिनुअघि केही कुराहरुलाई ध्यानमा राखेको थियो :
१. उबरले सधै भाडा तय गर्छ, जसको अर्थ चालकले कति कमाउँछ भन्ने कुरा उ आफैले निर्धारण गरिदिन्छ ।
२. उबर आफैंले सम्झौता शर्त निर्माण गर्दछ, जसमा चालकको बोल्ने ठाँउ हुँदैन ।
३. राइडिङ रिक्वेस्टमा उबरको नियन्त्रण हुन्छ । यदि कुनै चालकले धेरैवटा राइडलाई रद्द गर्यो भने उसलाई उबरले दण्ड दिन्छ ।
४. उबरले चालकको सेवा स्टार रेटिङको आधारमा निरीक्षण गर्दछ । लगातार चेतावनीपछि उसले सम्बन्धलाई पनि टर्मिनेट गर्न सक्छ ।
तर उबरको उत्तर तथा पूर्वी यूरोपका लागि क्षेत्रीय महाप्रबन्धक रहेका जेमी हेवूड आफूहरुले आफ्नो व्यवसायिक मोडलमा व्यापक परिवर्तन ल्याएको बताउँछन् ।
यसमा चालकहरुले कसरी कमाउँछन् भन्ने कुरामा उनीहरुलाई नै नियन्त्रण दिएकाे साथै विमारी वा चोटपटक लागेको अवस्थामा नि:शुल्क बीमा जस्ता नयाँ संरक्षण सुविधा थप गरेको उनी बताउँछन् ।