कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताएकी छन् ।
मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव नहुने बताइन् ।उनले अब मल आपूर्ति अनुमानमा नभई तथ्य र आवश्यकताका आधारमा गरिने समेत स्पष्ट पारिन् । ‘मलको आपूर्ति अनुमानका आधारमा होइन, तथ्य र आवश्यकताका आधारमा गर्ने गरी प्रदेशहरूसँग आवश्यकताको माग गरिएको छ । त्यसका आधारमा प्रबन्ध गरिने छ,’ उनले भनिन् मन्त्री अर्यालले दीर्घकालीनरूपमै मलको समस्या समाधान गर्ने तयारी समेत भइरहेको जानकारी दिइन् । उनले रासायनिक मलको कारखाना खोल्नका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताइन् ।
‘अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि मन्त्रालयका सचिवलाई कारखाना उद्योग खोल्नका लागि कार्ययोजना तयार गर्न भनेका छौं,’ उनले भनिन्, ‘कार्ययोजना प्रस्तुत गरेपछि मन्त्रिपरिषद्मा उद्योग खोल्नका लागि प्रस्ताव लगिने छ ।’