अहिले विश्वको सबैभन्दा ठूलो अमेजन वर्षावन माथि निकै ठूलो खतरा मडारिरहेको छ । याे दक्षिण अमेरिकाको अमेजन नदीको प्रमूख स्रोतको रूपमा रहेको जङ्गल हो ।
यसको क्षेत्रफल ५,५००,००० वर्ग किलोमिटर छ, जुन दक्षिण अमेरिकाको ९ वटा राष्ट्रहरूको भूभागमा पर्दछ ।करिब ३० लाख प्रजातिका वनस्पति र जनवारहरुको बसोबास रहेकाे अमेजनको वर्षावनलाई अहिले भूमाफियाहरुले खेतीयोग्य जमिनमा परिणत गर्न खोजिरहेका छन् ।यसले गर्दा यो क्षेत्रको अस्तित्वमा नै आँच आउने देखिएको छ । जंगल फडाँनीमाथिको प्रतिबन्धका बावजुद पनि यो काम तीव्र गतिमा भइरहेको छ । यति मात्र होइन अहिले फेसबुकजस्तो विश्वको ठूलो सामाजिक सञ्जाल प्लेटफर्ममा पनि अमेजन जङ्गलको जमिन बेच्न थालिएको छ ।भोलिको दिनमा यसको असर अमेजन जंगलभित्र बसोबास गर्ने आदिवासीले मात्र नभएर पुरै विश्वले भोग्नुपर्नेछ । बीबीसीको एउटा अनुसन्धानमा ब्राजिलका केही भूमाफिया गिरोहले अमेजन वर्षावनमा अवैधरुपमा कब्जा गरेको जमिनलाई फेसबुकमा बेचिरहेको पाइएको छ ।
फेसबुकमा यस्ता प्रशस्त विज्ञापनहरु राखिएका छन्, जसमा विश्वको सबैभन्दा ठूलो वर्षावनभित्रको जमिन खरिद गर्ने प्रस्तावहरु राखिएका छन् । त्यहाँका आदिवासी समुदाय बसोबास गर्दै आइरहेको संरक्षित भूमिको ठूलो हिस्सा पनि बिक्रीका लागि राखिएको छ ।जेर बोल्सोनारो ब्रजिलका राष्ट्रपति बने यता त्यहाँ रुख कटाईको अवस्था एक दशक यताकै उच्चतम स्तरमा पुगेको छ । १९८५ पछि ब्राजिली राज्य रोन टोनियोको वर्षावनको एक तिहाई भाग कटानी भइसकेको छ । वास्तवमा यो जङ्गलले विश्वभरी मौसम परिवर्तनलाई रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।ब्रजिलको उरुबाबा समुदाय अमेजन जंगलमा अवैधानिक कब्जा गर्ने घुसपैंठीहरुसँग वर्षौंदेखि जुँधिरहेको छ । त्यही समुदायका बिटाट र उनका साथीहरु आफ्नो भूमिका कोही घुसपैंठ गर्न नसकुन् भनेर सधैं गस्ती गर्छन् । यी भूमाफिया त्यस्ता व्यक्तिलाई जंगलको जमिन बेच्दछन्, जसले जमिन खरिद गरी त्यहाँको रुख काटेर खेती गर्छन् ।बिटाटको समुदाय बसोबास गर्दै आइरहेको क्षेत्रको जमिनको सानो टुक्रा बिक्रीको प्रस्ताव सहित फेसबुकमा एउटा विज्ञापन थियो । जमिनको बिक्री फेसबुक जस्तो भर्चुअल स्पेससँगै बाहिर पनि भइरहेको छ । तर फेसबुकको माध्यमबाट भने भूमाफियाहरुलाई खरिददार खोज्न सजिलो भएको छ ।
बीबीसीले एकजना अन्डरकभर एजेन्टको मद्दतबाट फेसबुकमा जमिन बेच्ने चारजना भूमाफियासँग सम्पर्क गर्यो ।बिटाटको बसोबास क्षेत्रको जमिन बेच्ने व्यक्तिको नाम एल्बिम एल्बस हो । उनले आफ्नो साथमा धेरै आधिकारिक जस्तो देखिने दस्तावेज ल्याएका थिए तर उनीसँग उक्त जग्गाको कानुनी स्वामित्वको कागजात थिएन । एक कागजातका अनुसार उनी कुरुपिरा संगठनका सदस्य हुन् । त्यहाँको प्रहरीले कुरुपिरा संगठनलाई आपराधिक संगठनको करार दिएको छ जसले त्यहाँ बसोबास गर्ने आदिवासी समुदायसँग जबरजस्ती जमिन खोस्दछ ।यो संगठनले संरक्षित जमिन खोसेपछि राजधानी ब्रजिलियामा नेताहरुसँग साँठगाँठ गरेर ती जमिन आफ्ना सदस्यहरुका नाममा नामसारी गराउँदछ । एल्बिमले कोरोनो क्रिसोतोमो नाममा एक राजनेताले आफूहरुलाई सहयोग गरिरहेको उनले बताए ।तर क्रिसोतोमोले संरक्षित जमिनमा कुरुपिरा संगठनले अवैद्य कब्जा जमाएको आफूलाई थाहा नभएको र थाहा भएको भए आफूले कहिल्यै समर्थन नगर्ने उनले बताए ।
फेसबुकले आफ्नो प्लेटफर्ममा क्रेता र बिक्रेताले कानूनी नियमको पालना गर्नुपर्ने र आफूले स्थानीय अधिकारीहरुलाई सहयोग गर्न तयार रहेको बताएको छ । बीबीसीले जब एल्बिमसँग सम्पर्क गर्न चाह्यो तब उनले जवाफ दिन मानेनन् ।जबसम्म अधिकारीहरु यसविरुद्ध कुनै कदम उठाउँदैनन्, तबसम्म जंगलको विनाश भइरहने छ । वैज्ञानिहरु भन्छन् एक समय यस्तो आउने छ जब अमेजनलाई पुरानो अवस्थामा फर्काउन अप्ठ्यारो हुनेछ ।बीबीसीको अनुसन्धानपश्चात ब्रजिलको सर्वोच्च अदालतले फेसबुकमा भइरहेको अमेजन वर्षावनको संरक्षित भूमिको बेचबिखनमाथि अनुसन्धान गर्न आदेश दिएको छ ।फेसबुकले पनि बीबीसीको रिपोर्टमा उल्लेख गरिएको मुद्दालाई समाधान गर्न स्थानीय अधिकारीहरुसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।
यस वर्षको अन्त्यमा बेलायती शहर ग्लासगोमा क्लाइमेट समिट आयोजना हुँदैछ । जहाँ वातावरणसम्बन्धी विभिन्न महत्वपूर्ण मुद्दामाथि छलफल हुनेछ । जसमा अमेजन पनि एउटा मुद्दा बन्नेछ ।