११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

नेपाल वायुसेवा निगमले खरिद गरेका जहाजको ब्याज र किस्ता तिर्न नसक्दा ऋण बढेर ४६ अर्ब १३ करोड ४६ लाख ५ हजार ७ सय २२ रुपैयाँ पुगेको छ ।

निगमको गत पुस मसान्तसम्म तिर्न नसकेको ब्याजसमेत जोडिँदा झन्डै २ अर्ब ऋण बढेको हो । गत असार मसान्तदेखि पुससम्मको ब्याज मात्रै १ अर्ब ८६ करोड ३८ लाख ५७ हजार ५ सय ८८ रुपैयाँ रहेको छ । जहाज खरिद गर्दा सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको ब्याज र किस्ता तिर्न नसक्दा ऋण बढ्दै गएको हो । गत असारसम्म निगमको ऋण ४४ अर्ब २७ करोड ८० लाख ८ हजार १३ रुपैयाँ रहेको थियो । त्यसयता निगमको ऋण झन्डै २ अर्ब बढेको हो । कोरोनाका कारण उडान गर्न नसकेको निगमलाई ऋणमाथि ऋणको भार थपिँदै गएको छ । ७ वर्षअगाडि दुई थान एयरबस ३२० जहाज खरिद गर्दा सञ्चय कोषसँग लिएको १० अर्ब रुपैयाँ घट्दै जानुपर्नेमा तीन वर्षअगाडि घटाएर ८ अर्बमा झारिएको ऋण अहिले बढेर पुनः ९ अर्ब ८४ करोड ९८ लाख पुगेको छ ।

एयरबस ३३० जहाज खरिद गर्दा सञ्चय कोषसँग १२ अर्ब ऋण लिइएको थियो । किस्ता र ब्याज तिर्न नसकेपछि उक्त १२ अर्ब ऋण बढेर १४ अर्ब ८३ करोड ८७ लाख ४६ हजार पुगेको छ । त्यस्तै, नागरिक लगानी कोषसँग एयरबस ३३० जहाज खरिदका लागि लिइएको १२ अर्ब ऋण बढेर १४ अर्ब ५५ करोड २५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । निगमको राष्ट्रिय वाणिज्य बैंकबाट ओभरड्राफ्ट लोन ५९ करोड ५२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, हिमालयन बैंकबाट सर्टटर्म लोन १ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने सरकारी लोन ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।कोरोनाका कारण मारमा परेको निगमलाई राष्ट्र बैंकको मौद्रिक नीतिले सहयोग नगर्दा पछिल्लो समस्या आएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल बताउँछन् । ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत भएका ऋण लगानीको सेटल भयो, तर निगमलाई सञ्चय कोष र नागरिक लगानी कोषको ऋण भएकाले मौद्रिक नीतिले छोएन,’ पौडेलले भने ।

सरकारले आगामी बजेटमार्फत सम्बोधन गर्नका लागि वचन दिएकाले बजेटपछि समस्या समाधान हुने आशा राखेको पौडेल बताउँछन् । निगमले अहिलेकै अवस्थामा निगमलाई माथि उठाउन समस्या हुने भएकाले अधिकृत पुँजी ५० अर्ब पुर्‍याउन र आवश्यक परेका वेला खर्च गर्न सक्ने व्यवस्था गर्नका लागि पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको समेत पौडेलले बताए ।

घट्दै छ जहाजको मूल्य :
निगमसँग रहेका साना र ठूला गरेर रहेका १४ जहाजको मूल्य ३६ अर्ब ६१ करोड ३५ लाख ७५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । जसमा दुई वर्षअगाडि खरिद गरिएको एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडी जहाजको मूल्यांकन २३ अर्ब २१ करोड १५ लाख गरिएको छ । त्यसैगरी, ६ वर्षअगाडि खरिद गरिएका दुई थान एयरबस ३२०–२०० सिरिजका दुई थान न्यारोबडी जहाजको ६ अर्ब ३९ करोड ९८ लाख ७० हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।

बिक्री गर्ने निर्णय भएको चिनियाँ जहाजको ३ अर्ब ८१ करोड १० लाख रुपैयाँ मूल्यांकन गरिएको छ । त्यसैगरी, बिक्रीको निर्णय भइसकेको बोइङ ७५७ जहाजको ६५ करोड ५० लाख ९४ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, तीन थान ट्विनअटर जहाजको ६५ करोड ४४ लाख रुपैयाँ मूल्यांकन गरिएको छ ।

नयाँ जहाजमै डेढ अर्ब खर्च हुँदै :
गत २४ पुस (८ जनवरी)मा नेपाल एयरलाइन्सको जहाज ‘हेभी ल्यान्डिङ’ गराउँदा जहाजको दुईवटा ल्यान्डिङ गियरमा गम्भीर समस्या आएको पत्र जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमलाई पठाइसकेको छ । जहाजका मुख्य दुईवटा ल्यान्डिङ गियरमा समस्या देखिएकाले मर्मत वा नयाँ राख्नुपर्ने भएको एयरबसले पठाएको पत्रमा उल्लेख गरेको छ ।

भारतबाट भाडामा ल्यान्डिङ गियर ल्याउने तयारी गरिएको छ । भाडामा ल्याउनका लागि प्रतिघन्टा १ लाख डलर खर्च हुनेछ । पुरानो विस्थापन गरेर नयाँ फेर्नुपर्ने भएमा निगमको १ अर्ब ५० करोड रुपैयाँ खर्च हुनेछ । ‘हामीले नयाँ ल्याउने भन्दा पनि सकेसम्म मर्मतका लागि काम गरिरहेकाले प्रक्रिया सुरु भएको छ,’ पौडेलले भने ।

निगमका अन्तर्राष्ट्रिय उडानमा एउटा वाइडबडी जहाज ग्राउन्डेड भएको छ भने अर्को न्यारोबडी जहाज सि–चेकका लागि सिंगापुर पठाइएको छ । जसका कारण दुई जहाज मात्रै उडानमा छन् । जसको असर प्रत्यक्ष उडानमा समेत परेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]