गत माघ दोस्रो साता काठमाडौंको तारकेश्वर नगरपालिकामा देखिएको बर्डफ्लु नियन्त्रणमा सरकार असफल देखिएको छ।
तारकेश्वर–७ का स्थानीयले पालेका पन्छीमा बर्डफ्लु पुष्टि भएपछि पशु सेवा विभागले नियन्त्रणका लागि आवश्यक पहल थालिएको बताएको थियो। भारतका विभिन्न राज्यमा बर्डफ्लु भेटिएकाले पन्छी आयातमा पनि रोक लगाइएको थियो। सरकारी निकायले निगरानी बढाइएको बताए पनि माघ अन्तिम साता सोही क्षेत्रमा बर्डफ्लु भेटियो। फागुन दोस्रो साता जाजरकोट र सुर्खेमा पनि बर्डफ्लु भयो। त्यसलगत्तै पनि विज्ञप्ति जारी गर्दै पशु सेवा विभागले नियन्त्रणका लागि आवश्यक पहल थालिएको र निगरानी बढाइएको जानकारी बताएको थियो।
नियन्त्रण गर्ने निकायले नियन्त्रणका लागि निगरानी बढाइएको दाबी गर्दै आए पनि बर्डफ्लु भने झन् बढ्दै गइरहेको देखिएको छ। पछिल्लो समय गत शुक्रबार ललितपुरको नख्खुमा बर्डफ्लु पुष्टि भएको छ।नख्खुमा बर्डफ्लु पुष्टि भएपछि ५१६ हाँस, ८५४ स्थानीय कुखुरा र १५४ बट्टाई नष्ट गरिएको छ। कुखुराको अण्डा र दानासमेत नष्ट गरिएको पशु सेवा विभागले जानकारी दिएको छ।
नियन्त्रण बाहिर गएकै हो त ?
पशु सेवा विभागले पछिल्लो समय पन्छीको परीक्षण बढाएकाले बर्डफ्लु बढेको जस्तो देखिएको बताएको छ। विभागकी महानिर्देशक दमयन्ती श्रेष्ठका अनुसार स्थानीयले पालेका कुखुरा, हाँसलगायत पन्छीको नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्ने गरिएको छ।
विभागको नियमित कार्यक्रम अन्तर्गत परीक्षण नियमित भइरहे पनि छिटफुट रुपमा कुनै–कुनै स्थानका पन्छीमा बर्डफ्लु पुष्टि भइरहेको श्रेष्ठको भनाइ छ। ‘नियन्त्रण बाहिर गएको भन्न मिल्दैन। हामीले परीक्षण बढाएको हो, निगरानी बढाएको हो,’ उनले भनिन्।प्रायः चिसो मौसममा बर्डफ्लु फैलिने सम्भावना बढी भएकाले विभागले स्थानीय पोल्ट्रीहरुबाट नमुना संकलन गरेर विभागको प्रयोगशालामा परीक्षण गरिरहेको श्रेष्ठले बताइन्।
भारतबाट आयात निरन्तर :
गत माघमा पहिलो पटक बर्डफ्लु पुष्टि भएपछि भारतबाट पन्छीजन्य वस्तु आयातमा रोक लइगाएको विभागले जानकारी गराएको थियो। तर, त्यसपछि पनि पन्छी आयात भने रोकिएको छैन। भन्सार विभागका अनुसार फागुनमा मात्रै २२ करोड ९५ लाख ८९ हजार रुपैयाँबराबरको कुखुरा, टर्की, हाँसलगायत पन्छी आयात भएका छन्।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १ अर्ब ५६ लाख ८ हजार रुपैयाँबराबरको जिउँदा कुखुरा, टर्की, हाँसलगायत पन्छीजन्य वस्तु मासु उपभोगका लागि आयात भएको भन्सार विभागले जनाएको छ। माघ मसान्तसम्म कुखुरा, टर्की, हाँसलगायत पन्छीजन्य वस्तुको आयात ७७ करोड ६० लाख १९ हजार रुपैयाँको भएको थियो