पोखरा – नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको पोखरामा आयोजित भेलाबाट कास्कीमा समानान्तर कमिटी घोषणा गरिएको छ ।
बिहीबार पोखराको न्यूरोडस्थित सिटी पार्टी प्यालेसमा आयोजित भेलाले ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।नेता माधव कुमार नेपालको प्रमुख उपस्थितिमा आयोजित कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् । गठित समितिले केही समयभित्रै अर्को भेला गरेर पार्टीको पूर्ण कमिटी घोषणा गर्ने बताइएको छ ।
भेलामा माधव नेपाल र सुरेन्द्र पाण्डे सहित तुलबहादर गुरुङ, चूडामणि जंगली, श्रीनाथ बराल र मदनकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । पछिल्लो समय पार्टीमा एमालेका अध्यक्ष केपी ओलीले नेपाल र भीम रावललाई कारवाही गरेपछि नेपाल–खनाल समूहले विभिन्न भ्रातृ संगठनको समानान्तर कमिटी घोषणा गर्दै आएको छ । पार्टीको कारबाहीमा परेपछि नेपाल पहिलो पटक पोखरा आएका हुन् । गण्डकी प्रदेश एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको बलियो पकड क्षेत्र हो ।
गण्डकी प्रदेशमा पनि कास्की ओली पक्षको सबैभन्दा बलियो पकड भएको जिल्ला भएको बताइन्छ । प्रदेश तथा संघीय संसदमा नेपाल–खनाल समूहबाट एकजना मात्र सांसद रहेका छन् ।