सिन्धुली – जिल्लाका वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा वन पैदावर, वन्यजन्तु र जडीबुटी जलेर नष्ट हुँदै गएका छन् ।
जिल्लाको कमलामाई नगरपालिका, कमलाखोज र मरिण क्षेत्रमा रहेका सामुदायिक तथा सरकारी वनमा लागेको डढेलो निभ्न नसक्दा समस्या भएको हो । गोठालाहरूले लगाएको डढेलो वन कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरूले समयमै निभाउन नसक्दा डढेलो दिनदिनै फैलिएर वातावरणमा प्रतिकुल असर परेको छ ।कमलामाई नगरपालिका भित्र रहेका च्याउकोट, मैनालीठाकुर, सिंदुरेटार, कल्याणी, सिस्नेरी लगायतका सामुदायिक वनमा केही दिनदेखि लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
यस्तै डडेल्धुरामा अमरगढी नगरपालिकाको एक किराना पसलमा आगलागी भएको छ । अमरगढी नगरपालिका–७ र ८ को सिमाना रातागौनमा रहेको उग्रतारा स्टोरमा गएराति आगलागी हुँदा किराना पसल पूर्णरुपमा क्षातिग्रस्त भएको छ ।काठ र जस्ताले बनेको पसल पूर्ण रुपमा जलेको पोखरा प्रहरी चौकीले जनाएको छ ।
स्थानीय यज्ञ सार्कीको स्टोरमा लागेको आगो नियन्त्रणमा लिन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलील प्रयास गरेको थियो । बिजुलीको तार सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।