अहिले भारतमा फैलिएको कोरोना संक्रमण अधिकांश लक्षणविहीन पाइएको छ।
एउटा अध्ययनअनुसार गत फेब्रुअरी १० देखि मार्च २० सम्म मुम्बईमा देखिएका ८५ हजार संक्रमितमध्ये ६९ हजार ५ सय जना लक्षणविहीन अर्थात् एसिम्प्टोमाटिक भएको तथा अस्पतालमा गएकामध्ये ८ हजार व्यक्तिमा हल्का लक्षण मात्र देखिएका थिए।
भारतमा देखिएको कोरोना दोस्रो लहरको मृत्युदर ०.६ प्रतिशत मात्र छ।
हाल नेपालमा पनि अन्य रिपोर्टका लागि तथा सर्जरी वा ब्लड ट्रान्सफ्युजन गर्दा लक्षण नदेखिएका व्यक्तिमा पीसीआर पोजिटिभ देखिएको छ।
अहिले मौसम परिवर्तन तथा प्रदूषणका कारण रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन्। व्यक्तिगत तवरमा तथा सरकारले पीसीआर परीक्षण बढाउने हो भने संक्रमितको संख्या बढ्ने देखिन्छ।
लक्षणविहीन संक्रमणले संक्रमितलाई कम असर गर्ने तथा अर्को व्यक्तिमा सर्ने दर कम हुने भए पनि जोखिम वर्गमा संक्रमण प्रवेश गर्यो भने खतरा बढ्ने देखिन्छ।
भारतमा संक्रमण भयावह रूपमा बढ्ने आँकडासँगै नेपाल आउनेको संख्या बढिरहेको छ।
तसर्थ सरकारले सीमानाकामा कडाइ गर्ने, परीक्षण अनिवार्य गर्ने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने, लक्षण देखिएका तथा पीसीआर नेगेटिभ भएका व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, समुदायमा परीक्षण गर्ने, कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउने, उपचारको तयारी गर्ने, जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने तथा खोप आयातलाई प्राथमिकता दिन जरुरी छ।