सप्तरी – तरकारी खेती गर्न थालेपछि शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मीना डगौराले घरायसी खर्चका लागि अरुसँग हात फैलाउनु परेको छैन । तरकारी खेती गरेर आएको पैसाले सहज रुपमा घरको खर्च चल्न थालेको छ ।
घरायसी खर्चको जोहो मिलाउँदै उनले तरकारी खेतीबाट आएको केही रकम श्रीमानलाई आवश्यक पर्ने खर्चमा दिँदै आएकी छन्। ‘तरकारी खेती गर्ने खेतमा अन्न बाली लगाउँदा घर खर्च चलाउन निकै गाह्रो थियो,’ उनले भनिन्, ‘घर खर्चका लागि समेत श्रीमानको मुख ताक्नु पर्दथ्यो । तरकारी खेतीले दिनचर्या फेरिएको छ । श्रीमानबाट घर खर्च माग्ने महिलाहरु उल्टै हाल तरकारी खेती गरेर श्रीमानको पकेट मनि दिन थालेका छौं ।’
मीनाजस्तै पिपलाडीका पाँच दर्जनभन्दा बढी महिला तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा संलग्न महिलाहरुले दैनिक नजिकैका बजारमा तरकारी बेचेर तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म हात पार्दै आएका छन् । ‘विगतमा तरकारी खेती गरे पनि घरकै लागि मात्रै हुँदै आएको थियो । त्यो पनि परम्परागत तरिकाले गरिने हुँदा थोरै मात्रै फल्ने गरेको थियो,’ लक्ष्मी चौधरीले भनिन्, ‘तरकारी खेती गर्ने नौलो तौरतरिका सिक्यौं । हाल चाहेअनुसारकै तरकारी बारीमा उत्पादन गर्न थालेका छौं ।’
विभिन्न संघ संस्थाले बारीमै पुगेर तरकारी खेतीका लागि खेत तयार गर्ने, बिरुवा रोप्ने र टिप्नेदेखि बजारमा लगेर बेच्नेसम्मका ज्ञान दिएपछि तरकारी खेती गर्न निकै सहज भएको उनको भनाइ छ । बेमौसमी तरकारी खेतीबाट बढी फाइदा हुने भएपछि यस क्षेत्रका किसान महिलाहरुले अहिले बारीमा काउली, रायो, गोलभेडा, बोडीलगायतका तरकारी उत्पादन गरी बजारमा लगेर बेच्दै आएका छन् ।
स्थानीय किसान कालुराम चौधरीका अनुसार महिलाहरुले काउली बचेर मासिक २० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । काउली प्रतिकिलो ९० देखि १०० रुपैयाँसम्म र रायोको साग प्रतिमुठा ४० रुपैयाँमा बारीबाटै बिक्री हुँदै आएको उनले बताए ।
दिनभरि खेतबारी तरकारी स्याहार्नमा व्यस्त हुने यहाँका महिलाहरु साँझ पख तरकारी टिप्ने र बिहानी झिसमिसेमै नजिकका बजारमा लगेर बेच्ने गर्दछन् । केही तरकारी व्यापारीहरुले बारीमै पुगेर खरिद गरेर लैजाने गरेका छन् । महिलाहरुले उत्पादन गरेको तरकारीको बजारीकरणमा सघाउ पुर्याउन नव किरण बचत तथा ऋण सहकारी संस्थाले सहयोग गर्दै आएको छ ।
‘तरकारी संकलनकेन्द्र स्थापना गरी बजारमा बढी मूल्यमा तरकारी बेच्नका लागि सहजीकरणमा लागेका छौं,’ सहकारीका अध्यक्ष धनबहादुर चौधरीले भने, ‘महिलाहरुले टोकरीमा तरकारी बजारमा लगेर बेच्ने कार्यको अन्त्य गर्नका लागि छलफल अगाडी बढाइएको छ ।’ सहकारीले महिलाहरुलाई तरकारीको उन्नत बीउविजन, रासायनिक मल, सिँचाइका लागि बोरिङको समेत व्यवस्था गरिदिएको छ ।
सहकारीले किसान परियोजनासँग सहकार्य गरी तरकारी खेतीमा लागेका महिलाहरुको दक्षता अभिबृद्धि गर्नका लागि कार्यक्रम समेत सञ्चालन गरेको छ । तरकारी खेतीमा संलग्न महिलाहरुलाई अन्तर समूह अनुगमन गराई एकले सिकेका सीप अर्कोलाई सिकाउनका लागि समेत कार्य अगाडी बढाइएको किसान परियोजनाका जिल्ला संयोजक अनुपसिंह बमले बताए । तरकारी खेतीमा लागेका महिलाको दक्षता अभिबृद्धिका लागि तालिमको व्यवस्थासँगै ४०० घरघुरीमा एकजना जेटिएको समेत व्यवस्था मिलाइएको उनले बताए ।
पहिलेको तुलनामा तरकारी बाली लगाउने तौर तरिकामा परिवर्तन आएपछि पिपलाडी गाउँ तरकारी खेतीका लागि चिनिन थालेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । ‘नयाँ प्रविधिको विकाससँगै तरकारी खेतीका लागि नयाँ किसमका उपकरणर औजारहरुको प्रयोग हुन थालेपछि यसले उत्पादन बढाउन सघाउ पुर्याएको छ,’ उनले भने, ‘स्थानीय संघ संस्थासँगै स्थानीय तह र प्रदेश सरकारले तरकारी खेतीमा संलग्नलाई अनुदान लगायतका कार्यक्रममा आवद्ध गराउन थालेपछि तरकारी खेती गर्नेहरु बढेका छन् ।’
मुख्यमन्त्री कृषि कार्यक्रममा यस क्षेत्रका किसानलाई समेटिएपछि तरकारी खेती गर्नेलाई प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि बोरिङ, बीउ खरिद गर्नका लागि रकमको व्यवस्थाले व्यवसायीक तरकारी खेती गर्ने किसानलाई निकै सघाउ पुर्याएको उनको भनाई रहेको छ ।
पिपलाडी, जोनापुरका १०० भन्दा बढी परिवारले पाँच कठ्ठादेखि एक बिघा जग्गामा तरकारी खेती गरेका छन् ।