भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका लागि रात्रिकालीन कर्फ्यू लागेपछि मजदुरको भागाभाग चलेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै जानु र फेरि लकडाउन हुनसक्ने चर्चाबीच सर्वसाधारण श्रमिकहरू दिल्ली छाडेर घरतिर जान थालेका छन् ।अघिल्लोपटक मजदुरहरू समयमै घर नजाँदा दिल्लीमै फसेका थिए । तर यसपालि मजदुरहरू लकडाउन हुनसक्ने अनुमान गर्दै घरतिर गइरहेका छन् ।दिल्लीसँगै महाराष्ट्र प्रदेशको पुणेमा पनि यस्तै अवस्था देखिएको छ । मजदुरहरू शहर छाडेर गाउँतिर जान थालेका छन् ।
शहरका रेल्वे स्टेसन र बस स्टेसनमा गाउँतिर जाने यात्रुको भीड देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संक्रमित बढेपछि भारतको दिल्ली, महाराष्ट्र, मध्यप्रदेश, यूपी प्रदेशका शहरी क्षेत्रमा रात्रिकालीन कर्फ्यू लगाइएको छ । यस्तो बेला फेरि लकडाउन हुनसक्ने डर सर्वसाधारणमा देखिएको छ ।