नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताएका छन् ।
सांसद बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पाँचौं जिल्लासभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा राउटे समुदायलाई जबरजस्त इसाइकरण गरेर मुलुकको मौलिकता मास्ने प्रयास भइरहेको बताए ।‘सांस्कृतिक मौलिकता मास्ने राम्राज्यवाद कुनै पनि हालतमा मानिँदैन, धर्म र दल परिवर्तन नागरिकको स्वतन्त्रता हो,’ उनले थपे ।
उनले भने, ‘ठाउँठाउँमा पार्टी बनाएर हिँड्नेलाई मेरो पनि शुभकामना छ, कमसेकम नाम र चिह्न भएको पार्टी बनाउनु । नेपालमा २ पार्टी छन्, एमाले र कांग्रेस, यिनै २ पार्टीहरू चित्त बुझेनी–नबुझेनी, राम्रो भएनी–नभएनी, आलोचना भए करेक्सन हुँदै ढल्दै, धुलो टकटक्याउँदै यिनीहरू नै अगाडि बढ्छन् ।’कार्यक्रममा पनौती नगर प्रमुख भीम न्यौपाने, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, एमालेका जिल्ला नेता इन्द्रबहादुर तामाङ, माओवादी केन्द्रका नेता विष्णु मिजार लगायतले जिल्लासभा सफलताको शभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा जिसस प्रमुख उद्धव केसीले विक्रम संवत् २०७५ सालमा शुरू भएको नवनिर्मित भवन १ करोड ४८ लाख १७ हजारमा निर्माण सम्पन्न भएको जानकारी दिए ।