रुसले पूर्वी युक्रेनमा हस्तक्षेपकारी सैन्य गतिविधि गर्न सक्ने चेतावनी एक शीर्ष रुसी अधिकारीले दिएका छन् ।
युक्रेनले पूर्वी क्षेत्रमा विखण्डनकारीविरुद्ध सैन्य अभियान सुरु गरेपछि रुसको चेतावनी आएको हो ।सो क्षेत्रमा रहेका रसियन भाषीहरुको सहयोगका लागि आफूहरुले हस्तक्षेप गर्न सक्ने चेतावनी रुसी अधिकारी दिमित्री कोजाकले दिएका हुन् ।अहिले रुसको साथ पाएका बिद्रोही र युक्रेनी सुरक्षाकर्मीबिच पूर्वी क्षेत्रमा भिडन्त जारी छ । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी पनि बढाएको छ ।
रुसी अधिकारी दिमित्रीले आफ्ना नागरिकको रक्षाका लागि हस्तक्षेपकारी सैन्य अभियान चलाउन सकिने बताएका हुन् ।अहिले जारी रहेको तनाव तत्काल अन्त्य नभए युक्रेनले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी पनि उनले दिएको बिबिसीले उल्लेख गरेको छ ।रुसले युक्रेनसँगको सीमा क्षेत्रमा आफ्ना सैनिकको तैनाथी बढाए पनि त्यसलाई खतराका रुपमा लिन नहुने बताउँदै आएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सीमा क्षेत्रमा रुसी सैनिकको संख्या सन् २०१४ यताकै धेरै भएको बताएकी छन् ।पूर्वी युक्रेनको क्षेत्रलाई लिएर विगत सात वर्षदेखि तनावको अवस्था छ । यस्तोमा रुसी सैनिकको संख्या बढ्नु गम्भीर चासोको विषय रहेको साकीले बताएकी छन् ।