सप्तरी – आज किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।
जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका उनको जन्म वि. सं. १९४२ कातिक २५ गते इलाममा भएको हो । उनको निधन वि. सं. २००५ सालमा भएको थियो ।
आफ्नो जीवनको अन्तिम पलसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लागेका उनले वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति चर्चित बनेको छ ।
अनावश्यक तडक—भडक नियन्त्रण र मौलिक संस्कृतिको जगेर्नाका लागि उनले जारी गरेको १० बुँदे लिखित मुचुल्कामा श्रीजंगा लिपिमा अध्ययन गराउने, मादक पदार्थ सेवन नगर्ने, छोराको विवाहमा दान नलिने, स्वदेशी कपडा लगाउने, छोरा र छोरीलाई समान शिक्षा दिने लगायतका कुरा उल्लेख थिए ।
समाज सुधारक फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिेय एकतालाई अझ सबल र कसिलो वनाउन सकिनेछ ।
फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।