एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तिव्र रुपमा फैलिरहेको कोरोना संक्रमणलाई वेवास्ता गरे देशको अवस्था भारतको जस्तै भयावह बन्ने चेतावनी दिएका छन्।
कोरोना महामारी फैलनबाट रोक्नका लागि सरकारी निर्देशनहरुको कडाइँका साथ पालन गर्न आवश्यक रहेको प्रधानमन्त्री खानको भनाइ थियो। निर्देशनहरुको पालना गराउनका लागि उनले सेना र अरु एजेन्सीहरुसँग सहयोग मागेका बीबीसीले जनाएको छ। शुक्रवार नेशनल कोअर्डिनेशन कमिटको एक बैठकपछि उनले भने,‘जुन तरिकाले तिब्र रुपमा कोरना बढिरहेको छ, म तपाईहरुसँग आग्रह गर्न चाहन्छु, सरकारले जारी गरेको दिशा–निर्देशलाई पूर्ण रुपमा पालन गर्नुहोस्।’मास्क अनिवार्य लगाउन आग्रह गर्दै उनले मास्कको प्रयोगले आधा समस्या हल हुने बताए। सरकारले जारी गरेको निर्देशनको पालना गर्दै कोरोनाबाट बच्ने उपायतर्फ लाग्ने हो भने भारतमा जस्तोे शहरहरुमा लकडाउन गर्नुपर्ने अवस्था नबन्ने उनको भनाइ छ।
लकडाउनको सबैभन्दा असर गरीब र मजदुरमा पर्ने भन्दै उनले सरकार यस्तो फैसला लिन नचाहेको बताए। तर अवस्था बिग्रेको खण्डमा बाध्य भएर लकडाउन गर्नुपर्ने उनले बताए।