भारतको पश्चिम बंगालामा निर्वाचन परिणाम पछि भड्किएको हिंसामा १७ जनाको मृत्यु भएको छ ।
गएको आइतबारदेखि शुरु भएको हिंसामा अहिलेसम्म १७ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।भारतीय जनता पार्टी (बिजेपी) ले अहिलेको हिंसामा तृष्णमूल काँग्रेसको हात रहेको आरोप लगाएको छ । बिजेपीले टिएमसी कार्यकर्ताले बिजेपीका सात कार्यकर्ताको हत्या गरेको आरोप लगाएको छ ।
अहिले पश्चिम बङ्गालका कैयौं ठाउहरुमा आगजनी गरिएको र तोडफोड गरिएको बताइएको छ ।यता टिएमसी सुप्रिमो ममता बेनर्जीले भने बिजेपीले प्रदेशमा आफ्नो हार पचाउन नसकेर हिंसा गरेको आरोप लगाएकी छन् । उनले विजेपीले घटनालाई बढाई चढाई प्रस्तुत गरेर राष्ट्रपति शासन लगाउने प्रयास गरेको आरोप लगाएकी छन् । उनले भनेकी छन्- राज्यमा चुनावपछि हिंसा जरुर भएको छ । तर बिजेपीले आगोमा घ्यू थप्ने काम गरेको छ । हिँसा ति ठाउहरुमा भएको छ, जँहा विजेपीले जितेको छ । यस हिंसालाई साम्प्रदायिक रंग दिने प्रयास विजेपीले गरेको छ । तर हामीले यस्तो हुन दिदैनौं ।’
ममताले प्रदेशको मुख्यमन्त्रीको रुपमा आफ्नो तेस्रो कार्यकालको आजै शपथ लिएर कार्यभार सम्हालेकी छन् । उनी सन २०११ मा ३४ बर्षदेखि शासन गरिरहेको कम्युनिष्ट पार्टीलाई पराजित गरेर सत्तामा आएकी थिइन् ।