काठमाडौं – नेकपा एमालेका नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगहरुमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन् एवम् अलोकतान्त्रिक भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले सामाजिक सञ्जाल मार्फत् कोरोना नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन केन्द्रीत हुनु पर्ने समयमा गलत बाटोबाट संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै सरकारको आलोचना गरेका हुन् ।गएको मंगलबार राष्ट्रिपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् भने शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठकमा संवैधानिक आयोगहरुमा रिक्त रहेका पदपूर्ति गरिने बताइएको छ ।यसैसन्दर्भमा नेता नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवं अलोकतान्त्रिक कार्य भएको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्–‘कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन केन्द्रीत हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवं अलोकतान्त्रिक कार्य हो । ’‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।’
नेता नेपालले गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरु बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रीत गर्न समेत आह्वान गरेका छन् ।