लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति लगायतका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान परिषद्को बैठक शुरु भएको हो । बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहभागि छन् । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागि छैनन् । यसअघि गत मंसिर महिनामा बसेको परिषद् बैठक पनि सापकोटा र देउवाले बहिस्कार गरेका थिए ।संविधानको भावना विपरित अध्यादेश मार्फत देश चलाउन लागेको भन्दै कांग्रेसले परिषद्को बैठकमा सहभागि नहुने हिजो निर्णय गरेको थियो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १९ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
यसअघि प्रतिनिधि सभाको सभामुख र प्रमुख प्रतिपक्षी दलको नेताले बैठक बहिस्कार गरेपछि बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सकिने गरी अध्यादेश जारी भएको थियो ।