सल्यान – जिल्ला अस्पतालको आइसोलेसन कक्षमा कोरोना संक्रमित बिरामी भरिएपछि आकस्मिक कक्षमा राखेर उपचार गर्न थालिएको छ ।
आकस्मिक कक्षमा कोरोना संक्रमितलाई उपचार गर्न थालेपछि अन्य बिरामी समस्यामा परेका छन् । अस्पतालले ओपीडी बन्द गरेपछि कोरोनाबाहेक अन्य रोगका बिरामी निजी अस्पतालमा र गम्भीर खालका बिरामी जिल्लाबाहिर जान बाध्य छन् । जिल्ला अस्पतालद्वारा सञ्चालित आइसोलेसनमा १८ संक्रमित छन् । स्वास्थ्य कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठका अनुसार आकस्मिक कक्षमा ६ जना बिरामी छन् । अक्सिजन प्लान्ट र आईसीयू सञ्चालन हुन नसक्दा कोरोनाका जटिल बिरामीलाई कठिन भएको छ । शुक्रबारसम्म १२ जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।जिल्ला अस्पतालका क्लिनिकल प्रमुख डा. भीमकान्त जैशीले आइसोलेसन र आकस्मिक कक्षमा कोभिडका बिरामी भएकाले अन्य रोगका बिरामीलाई सेवा दिन गाह्रो भएको बताए । जिल्लामा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ४ सय ६३ पुगेको छ । २६ जना कोरोना जितेर घर फर्किएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा आइसोलेसन बनाइएको भए पनि संक्रमितहरू त्यहाँ बस्दैनन् । स्वास्थ्यकर्मीहरू आइसोलेसनमा नबस्ने र उपचारको पनि भरपर्दो व्यवस्था नभएकाले अधिकांश संक्रमित घरमै बसेका छन् । ‘अस्पतालमा ल्याएका बिरामीलाई उपचार नगरी फर्काउन सकिँदैन,’ स्वास्थ्य सेवा कार्यालय प्रमुख श्रेष्ठ भन्छन्, ‘बाहिरका कोभिड अस्पताल पनि भरिभराउ भएकाले रेफर गर्दा बिरामीको ज्यान झनै जोखिममा पर्ने भएकाले अस्पतालको आकस्मिक कक्षमै राखेर भए पनि उपचार गर्नुपरेको हो ।’महामारीका कारण जिल्ला अस्पतालमा ओपीडी सेवा बन्द भएपछि सामान्य स्वास्थ्य समस्या भएका बिरामी अस्पताल आउन छाडेका छन् ।
स्थानीयवासीले समेत ओपीडी बन्द भएपछि उपचार पाउन नसकेको गुनासो गरेका छन् । उनीहरूले जनशक्ति र स्थानीय व्यवस्था गरेर भए पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्ने बताए । ओपीडी बन्द भएपछि उपचारका लागि निजी अस्पताल धाउनुपर्ने बाध्यता छ ।