काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्को सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन आधार नभएकाले अर्को सरकार गठनको प्रक्रिया अगाडि बढाइनुपर्ने देउवाको भनाइ छ। आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको विपक्षमा मत दिने जानकारी दिँदै देउवाले अब संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइनुपर्ने माग गरे।
सोमबार बसेको प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै देउवाले प्रधानमन्त्री ओली र ओली नेतृत्वको सरकार सम्पूर्ण रुपमा असफल भएकाले विश्वासको मतको विपक्षमा मत दिन पनि सवै सांसदसँग आग्रह गरेका छन्।