काठमाडौँ – राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा गर्नु रहेको बताएकी छन् । उनले प्रधानमन्त्रीलाई राजीनामा दिन पनि सुझाव दिएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पौडेलले भनिन्, ‘अहिले सबैभन्दा उत्तम विकल्प राजिनामा हो ।’ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरेर वाममोर्चालाई अगाडि बढाउनुपर्ने पनि बताइन् । उनले राष्ट्रिय जनमोर्चाको आग्रह प्रधानमन्त्रीको राजीनामा रहेको बताइन् ।
प्रधानमन्त्रीले चालेको असंवैधानिक, स्वेच्छाचारी कदमको क्रमलाई तोड्नैपर्ने अवस्था आएको पौडेलको भनाइ थियो । यो क्रम तयार रहेमा धेरै दुष्परीणामा आउने भएकाले अब सबैले विधि र प्रक्रियालाई अपनाएर अघि बढ्नुपर्ने उनले भनाइ राखिन् ।प्रधानमन्त्रीले राजीनामा गर्दा व्यक्तिलाई क्षति भएपनि लोकतान्त्रिक पद्धति बच्ने पौडेलको भनाइ थियो ।सरकारले गरेका राम्रा कामको आलोचना नगरिएको तर राम्रा काम कति गरिए भन्ने कुरा पनि बताउन पौडेलको भनाइ थियो ।
प्रतिनिधिसभाको आजको बैठक नै अन्त्य हुने भन्ने हल्ला चलिरहेको भन्दै उनले प्रधानमन्त्रीलाई सोधिन्, ‘सदनको आजको बैठक अन्तिम हो भनिइरहेका छन् । अवस्था यस्तै हो ?’ फेरि प्रतिनिधिसभा विघटन भएमा मुलुक ठूलो क्षतितर्फ जाने उनको भनाइ थियो । ‘जनताले दिएको मतको अवहेलना नगरौं । दाउपेच नगरौं । त्यसले छोटो समयमा धेरै कुरा सिध्याइदिन्छ,’ उनले भनिन् ।राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको सुनाउँदै पौडेलले अरु दलहरू र सांसदहरूलाई पनि प्रधानमन्त्रीको विश्वासको प्रस्तावको विपक्षमा मत दिन आग्रह गरिन् ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अहिलेको उत्तम विकल्प निर्वाचन भएको बताए । प्रधानमन्त्री ओलीलाई विश्वास दिने कि नदिने भन्ने कुरा प्रष्ट नराखेका उनले अहिले जनतामा गएर निर्वाचन हुनु नै सही हुने धारणा राखे ।