विराटनगर – मोरङमा पछिल्लो २४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचाररत चार महिला र आठ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा चारजना ३५ वर्ष र त्यसभन्दा कम उमेरका छन् ।
नोबेल शिक्षण अस्पतालमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया महिला, विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुष, उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष, विराटनगर–४ का ५२ वर्षीय पुरुष, मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया महिला र सिरहाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सिरहाकै अर्का पुरुषको पनि नोबेलमा मृत्यु भएको छ । ६२ वर्षीय उनलाई वैशाख २५ गते अस्पतालमा भर्ना गरिएको थियो । विराटनगरकै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुष, विराटनगर–१ की ३४ वर्षीया महिला र विराटनगर–१४ का ६८ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
विराट शिक्षण अस्पतालमा इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुष र सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।