बुटवल – रूपन्देहीको कोरोना विशेष अस्पताल बुटवल र लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । तीन जनाको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा र एक जनाको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार जेठ ५ गते भर्ना भएकी चन्कोट, गुल्मीकी ५० वर्षीया महिलाको शुक्रबार बिहान ४ बजे मृत्यु भएको छ । जेठ ५ गते नै भर्ना भएका बर्दघाट, नवलपरासी पश्चिमका ६२ वर्षीय पुरुषको बिहान ३ बजे मृत्यु भयो ।
सोही दिन भर्ना भएका सैनामैना, रूपन्देहीका ७७ वर्षीय पुरुषको बिहीबार सााझ ७ बजे मृत्यु भएको थियो । यस्तै वैशाख २९ गते कोरोना विशेष अस्पताल भर्ना भएका बर्दघाटकै ३९ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको डा. गौतमले बताए ।शुक्रबारसम्म रूपन्देहीमा कोरोनाले मृत्यु हुनेको संख्या ३८२ पुगेको छ ।