निवर्तमान सहरी विकास मन्त्री प्रभु साहले अराजकता र अस्थिरताकै कारण देश मध्यावधि निर्वाचनमा जान बाध्य भएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि प्रतिक्रिया जनाउँदै निवर्तमान मन्त्री साहले अस्थिरता र अराजकता मच्चाउन खोज्नेहरूको अतिवाद बढेर देश ताजा जनादेशमा जान बाध्य भएको बताएका हुन् ।संसदीय मूल्य मान्यता, विधि विधान र दलीय अनुशासन कुरा गर्नेहरुले नै त्यस विपरीतको गतिविधि देखाएर देशलाई बन्धक बनाएको तथा अराजक र अस्थिरता फैलाउने हर्कतले हद नाघेको उनको भनाइ थियो । उनले देशमा स्थिरता चाहने कोही पनि लोकतन्त्रवादीले चुनावको विरोध गर्न नसक्ने बताए ।
‘तपाईं हेर्न सक्नुहुन्छ, बहुमतको मातहतमा अल्पमत रहने दलीय लोकतान्त्रिक व्यवस्था मान्छौँ भन्नेहरु जसपाका १२ जनाले २० जनामाथि, नेकपा (एमाले) का २६ जनाले ९५ जनामाथि शासन गर्ने लालसासाथ आफ्नो दलविरुद्ध अरुलाई प्रधानमन्त्री बनाउन तल्लीन छन् । आफूलाई संसदको जननी भन्ने कांग्रेसले संसदीय अभ्यास र मर्यादा विपरीत अरु दलको सांसदको हस्ताक्षरको दुरुपयोग गर्ने अप्राकृतिक ढंगले प्रधानमन्त्री बन्न खोज्ने जस्ता हर्कत भइरहेका छन्’, नेता साहले भने, ‘त्यति मात्र होइन, एकातिर दलीय अनुशासनको नाममा सांसदलाई पकेटमा लिएर हिँड्ने र बिनाकारण स्वेच्छाचारी ढंगले मन नपर्ने सांसदलाई बर्खास्त गर्ने, अर्कोतिर स्वतन्त्रताको नाममा आफनो पार्टीविरुद्ध अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर समेत गर्ने, यी दुवै किसिमका अतिवाद भइरहेका छन् । यी र यस्ता हर्कत गर्ने अराजक र अनैतिकवादीहरुका कारण आज देश मध्यावधिमा जान बाध्य भएको छ ।’
देश लामो समयदेखि अन्योल एवं अनिर्णयको भूमरीमा फसेको र दूषित संसदीय खेलबाट जनता निराश भइसकेकाले ताजा जनादेशबाट मात्र निकास दिन सकिने उनको भनाइ छ । अस्पष्ट व्यवस्थाले जन्माएको अराजकताका कारण भइरहेका भद्दा खेल रोक्न लोकतन्त्र र अग्रगमन पक्षधरहरुलाई चुनावको स्वागत गर्दै अगाडि बढ्न अपिल समेत गरेका छन् । ‘मुलुक लामो समयदेखि अन्तर्घात, अस्थिरता, अन्योलता एवं अनिर्णयको भूमरीमा घुमिरहेको सन्दर्भमा अहिलेको दूषित संसदीय खेलबाट आर्जित एवं निराश भइसकेका देश र जनतालाई ठोस एवं सही निकास दिन अहिलेको मौजुदा व्यवस्थामा मध्यावधि चुनाव अर्थात् ताजा जनादेश नै सर्वोत्तम विकल्प हो’, नेता साहले भने, ‘त्यसैले सार्वभौम सत्ता सम्पन्न आम नेपाली जनतामाथि विश्वास गर्ने सम्पूर्ण लोकतन्त्र पक्षधरहरुले यस निर्णयको जोडदार स्वागत गर्न जरूरी छ ।’
नेता साहले विभिन्न अराजक हर्कत हुनुमा पनि भद्दा, विकृत एवं दलाल नोकरशाही पुँजीवादी व्यवस्था नै रहेकाले त्यसको परिमार्जन बारे पनि सोच्ने बेला आइसकेको बताए ।